विश्वकपमा कीर्तिमान बनाउँदै रोनाल्डो
विश्वकपमा कीर्तिमान बनाउँदै रोनाल्डो

विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि फिफा विश्वकप २०२२ अन्तिम हुनेछ । विश्वकपको दाबेदार मानिएको पोर्चुगलका कप्तान हुन् रोनाल्डो ।

सन १९८५ फेब्रुअरी ५ तारिखमा पोर्चुगलको फुन्चलमा जन्मिएका रोनाल्डो ३७ वर्षका भए । सन् २००३ बाट राष्ट्रिय टिममा डेब्यु गरेका रोनाल्डोले देशका लागि सिनियर टिमबाट ११७ गोल गरिसकेका छन् ।

सन् २००६, २०१०, २०१४ र २०१८ गरी चार पटक विश्वकप खेलिसकेका छन् । यो उनको पाँचौँ विश्वकप हो । रोनाल्डोले आफ्नो पहिलो विश्वकपमा पहिलो गोल इरानविरुद्ध ८०औँ मिनेटमा पेनाल्टीबाट गरेका थिए । उनले २००६ को विश्वकपमा ६ खेलबाट एक गोल गरेका थिए ।

२०१० को विश्वकपमा पनि रोनाल्डोले चार खेलबाट एक गोल गरे । समूह चरणबाटै बाहिरिएको विश्वकप २०१४ मा रोनाल्डोले तीन खेलबाट एक गोल गरे । २०१८ मा रसियामा भएको विश्वकप फुटबलमा भने कप्तान रोनाल्डोले पहिलो खेलमा नै स्पेनविरुद्ध ह्याट्रिक गोल गरे । रोनाल्डोले मोरक्कोविरुद्ध पनि एक गोल गरे तर पोर्चुगल प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

रोनाल्डोले चार विश्वकप गरी अहिलेसम्म सात गोल गरेका छन् । पाँचौँ विश्वकपमा पनि उनले गोल गरे, लगातार पाँचौँ विश्वकपसम्म गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने छन् ।

रोनाल्डोले अहिले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । स्पेनिस क्लब रियल मड्रिडमा कीर्तिमानसहित उपाधि दिलाएका रोनाल्डो इटालियन क्लब युभेन्टस हुँदै युनाइटेड पुगेका हुन् ।

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा