मेस्सी बने विश्वकपका सर्वोत्कृष्ट खेलाडी
मेस्सी बने विश्वकपका सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सर्वोत्कृष्ट खेलाडी बनेका मेस्सीले गोल्डेन बल जितेका छन् ।

फाइनलमा लियोनल मेस्सीले फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे । उनले कतार विश्वकपमा जम्मा सात गोल गरेका छन् । आफ्नो अन्तिम विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी दोस्रो पटक विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनले यसअघि सन् २०१४ को विश्वकप फुटबलमा पनि गोल्डेन बल जितेका थिए । त्यो विश्वकपमा अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० गोलले पराजित भएको थियो ।

विश्वकपमा सर्वाधिक २६ खेल खेल्दै कप्तान मेस्सीले नयाँ कीर्तिमान कायम पनि बनाएका छन् । यसअघि जर्मनीका लोथर माथेउसले विश्वकपमा २५ खेल खेल्दै .कीर्तिमान बनाएका थिए ।

क्रोएसियाविरुद्धको सेमिफाइनलमा अर्जेन्टिनाले ३–० गोलले हराउँदा कप्तान मेस्सीले लोथरको रेकर्ड बराबरी बनाएका थिए । योसँगै विश्वकप फुटबल इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी मेस्सी बनेका हुन् ।

३५ वर्षीय मेस्सीले सन् २००६ देखि २०२२ सम्म लगातार पाँच विश्वकप खेल्दै १३ गोल गरेका छन् ।

त्यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेजले विश्वकपको युवा खेलाडी अवार्ड जितेका छन् । त्यस्तै, अर्जेन्टिनाकै गोलकिपर इमिलियानो मार्टिनेजले उत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन ग्लोभ अवार्ड जित्न सफल भएका छन् ।

प्रकाशित मिति:सोमबार, पुस ४, २०७९  ०१:११
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा