विश्वकपमा विश्व कीर्तिमान बनाउँदै कप्तान मेस्सी
विश्वकपमा विश्व कीर्तिमान बनाउँदै कप्तान मेस्सी

सुपर स्टार खेलाडी लियोनल मेस्सीले विश्वकप फुटबलमा विश्व कीर्तिमान बनाउँदैछन् । कतारमा जारी विश्वकप फुटबलको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले खेलेसँगै कप्तान लियोनल मेस्सीले यस्तो रेकर्ड राख्न लागेका हुन् । 

विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिनाले आज (आइतबार) राति ८४५ बजे कतारको लुजेल रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा सर्वाधिक २६ खेल खेल्दै कप्तान मेस्सीले विश्वकपमा नयाँ कीर्तिमान कायम गर्नेछन् । यसअघि जर्मनीका लोथर माथेउसले विश्वकपमा २५ खेल खेल्दै .कीर्तिमान बनाएका थिए । क्रोएसियाविरुद्धको सेमिफाइनलमा अर्जेन्टिनाले ३–० गोलले हराउँदा कप्तान मेस्सीले लोथरको रेकर्ड बराबरी बनाएका थिए  । अब फ्रान्सविरुद्ध उनको रेकर्ड तोड्दै मेस्सीले नयाँ रेकर्ड राख्ने छन् ।

सन् २०१४ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको फाइनलमा पुर्याएका कप्तान मेस्सीलाई यो अन्तिम मौका पनि हो । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाए उनी सबैभन्दा सफल खेलाडी बन्ने छन् । फुटबलमा मेस्सीले जित्न नसकेको एक मात्रै उपाधि हो, विश्वकप ।

३५ वर्षीय मेस्सी जसरी भएपनि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएर खेलाडी जीवनबाट विश्राम लिने संकल्पमा छन् । फ्रान्सविरुद्धको खेलमा सबैको नजरमा मेस्सी नै हुनेछन् । उनी गोल्डेन बुटका मुख्य दाबेदार पनि हुन् । उनले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन् । सन् २००६ देखि २०२२ सम्म उनले लगातार पाँच विश्वकप खेल्दै ११ गोल गरिसकेका छन् ।

प्रकाशित मिति:आइतबार, पुस ३, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा