एमबाप्पेको ह्याट्रिकः फ्रान्स र अर्जेन्टिना ३–३ को बराबरीमा
एमबाप्पेको ह्याट्रिकः फ्रान्स र अर्जेन्टिना ३–३ को बराबरीमा

कतारमा जारी विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्सले ३–३ गोलको बराबरी खेलेका छन् । फ्रान्सका लागि तीनै गोल केलियन एमबाप्पले गर्दै ह्याट्रिक पूरा गरेका छन् ।

निर्धारित ९० मिनेटसम्म दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । खेलको १०८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । तर खेलको ११८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाएका हुन् ।

फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेलको ८०औँ र ८१औँ मिनेटमा गोल गरेसँगै निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेका थिए । दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले जोगाउन नसक्दा फ्रान्ससँग बराबरी खेलेको हो ।

खेलको ८१औँ मिनेटमा अर्जेन्टिनाका खेलाडीले डिबक्सभित्र फ्रान्सका खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा पुर्याए । त्यसको एक मिनेटपछि अर्थात खेलको ८१औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ को बराबरी दिलाएका थिए । 

यसअघि अर्जेन्टिनाले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र डि मारियाले गोल गरे । खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । कतारको लुजेल रंगशालामा खेलको २१औँ मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।

खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए ।

प्रकाशित मिति:आइतबार, पुस ३, २०७९  २३:३०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा