विश्वकपको तेस्रो मोरोक्को कि क्रोएसिया ?
विश्वकपको तेस्रो मोरोक्को कि क्रोएसिया ?

कतारमा जारी विश्वकप फुटबलमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्को भिड्दैछन् । खालिफा स्टेडिएममा खेल नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुनेछ ।

यी दुई टोलीले यसअघि जारी विश्वकपमा एउटै समूहमा परेका थिए । समूह चरणको खेलमा क्रोएसिया र मोरोक्कोले गोलरहित बराबरी खेलेका थिए । उपाधि दौडबाट बाहिरिएका क्रोएसिया र मोरोक्कोले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

मोरोक्को समूह ‘एफ’ को विजेता बन्दा क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । समूह चरणको पहिलो खेलमा क्रोएसियासँग बराबरी खेल्दै अंक बाँडेको मोरोक्कोले बेल्जियमलाई २–० गोलले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा क्यानडालाई २–१ गोलले पराजित गर्दै मोरोक्को नकआउट चरणमा प्रवेश गरेको थियो । प्रिक्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्वार्टरफाइनलमा पोर्चुगललाई १–० गर्दै मोरोक्को सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा मोरोक्को फ्रान्ससँग २–० पराजित हुन पुग्यो ।

यता, समूह चरणको पहिलो खेलमा क्रोएसियाले मोरोक्कोसँग बराबरी खेल्दै अंक बाँडेको थियो । दोस्रो खेलमा क्यानडालाई ४–१ गोलले पराजित गरेको क्रोएसियाले समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रिक्वार्टरफाइनलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएसँगै क्रोएसिया विश्वकप फुटबलको उपाधि दौडबाट बाहिरिएको थियो ।

विश्वकप उपाधिका लागि आइतबार राति ८ः४५ मा अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति:शनिबार, पुस २, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा