मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने

२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

कतारको अल बेत रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले मोरोक्कोविरुद्ध सहज जित निकाल्यो । फ्रान्सको जितमा थेओ हेर्नान्डेज र रान्डल कोलो मुआनीले गरे गरे । पहिलो हाफको सुरुमै एक गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो ।

हेर्नान्डेजले खेलको पाँचौँ मिनेटमा गरेको गोलसँगै मोरोक्कोविरुद्ध फ्रान्सले १–० गोलको अग्रता बनाएको थियो । खेलको ७९औँ मिनेटमा रान्डलले गोल गरेपछि फ्रान्सले २–० को जित निकालेको हो । खेल अवधिभर मोरोक्कोले गोल गर्ने राम्रो अवसरहरु खेर फाल्दा हार ब्यहोरेको हो । फ्रान्सको पोस्टमा मोरोक्कोले १३ पटक प्रहार गरेको थियो ।

यो जितसँगै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब फ्रान्सले विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग फाइनलमा खेल्नेछ । फाइनल खेल पुष ३ गते हुनेछ । यसअघि अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको टिम हो । मोरोक्कोले प्रिक्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । क्वार्टरफाइनलमा मोरोक्कोले पोर्चुगललाई पराजित गर्दै पहिलो पटक सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

प्रकाशित मिति:बिहीबार, मंसिर २९, २०७९  ०२:५०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा