विश्वकप फाइनलमा फ्रान्स कि मोरोक्को ?
विश्वकप फाइनलमा फ्रान्स कि मोरोक्को ?

विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति विश्व विजेता फ्रान्स र मोरोक्कोले प्रतिस्पर्धा गर्दैछन् । फ्रान्स र मोरोक्कोबीचको विजेताले फाइनलमा उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ ।

कतारको अल बेत रंगशालामा फ्रान्स र मोरोक्कोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स बलियो टिम हो । सन् १९९८ र २०१८ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको फ्रान्सले विश्वकपको सेमिफाइनलमा पहिलो पटक पुगेको मोरोक्कोसँग खेल्न लागेको हो । मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको उपाधि नजिक पुग्ने लक्ष्यमा छ ।

फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यता, मोरोक्कोले भने पोर्चुगललाई १–० गोलले स्तब्ध पार्दै ऐतिहासिक उपलब्धिसँगै सेमिफाइनलमा पुगेको टिम हो ।

विश्वकप सुरू हुनुअघि खेलाडी चोटले सताएको फ्रान्सले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । फ्रान्सले प्रिक्वार्टरफाइनलमा पोल्यान्डलाई ३–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । समूह ‘डी’ को विजेता बनेको फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलले पराजित गरेको थियो । दोस्रोे खेलमा डेनमार्कलाई २–१ गोलले हराएको फ्रान्स तेस्रो खेलमा भने ट्युनिसियासँग १–० गोलले स्तब्ध बनेको थियो ।

यता, मोरोक्को भने विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन देश हो । मोरोक्कोले प्रिक्वार्टरफाइनलमा २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । समूह चरणको आफ्नो पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरोक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा क्यानडालाई २–१ गोलले पराजित गर्दै मोरोक्को समूह ‘एफ’ को विजेता बनेको थियो ।

मोरोक्कोका खेलाडीको आत्मविश्वास धेरै बढेको छ । अहिलेसम्म मोरोक्कोले खाएको एक आत्मघाति गोल बाहेक विपक्षी टिमले एक गोल पनि गर्न सकेका छैनन् ।
 

प्रकाशित मिति:बुधबार, मंसिर २८, २०७९  ०६:२२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा