पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिना नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई फेरि एक पटक पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

यसअघि सन् २०१४ को विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमै ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा जर्मनीसँग १–० ले हारेसँगै उपाधि जित्नबाट चुकेको थियो ।

कतारको लुजेल रंगशालामा अर्जेन्टिना र नेदरल्यान्ड्सले निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरी खेलेका थिए । अर्जेन्टिनाले दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्ससँग निर्धारित समयसम्म बराबरी खेलेको थियो ।
खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । तर थप गरिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीबाट टुंगो लागेको हो ।

नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिनाका लागि नेहुएल मोलिना र कप्तान लियोनल मेस्सीले गोल गरे । नेदरल्यान्ड्सका लागि दुवै गोल वोउट वेगहस्र्टले गरे । खेलको ३५औँ मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कप्तान लियोनल मेस्सीको एसिस्टमा गोल गर्दै उनले अर्जेन्टिनालाई पहिलो हाफसम्म १–० को अग्रता दिलाए ।

खेलको ७१औँ मिनेटमा अर्जेन्टिनाका मार्कोस अकुनालाई फोउल गरेपनि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट गोल गर्दै कप्तान मेस्सीले अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । खेलको ८३औँ मिनेटमा नेदरल्यान्ड्सले गोल गर्दै खेल २–१ गोलको स्थितिमा ल्यायो । नेदरल्यान्ड्सका लागि वोउट वेगहस्र्टले गोल गरे । खेलको केही सेकेन्ड बाँकी छँदा वेगहस्र्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–२ को बराबरीमा पुर्याए । 

 

निर्धारित ९० र थप गरिएको ३० मिनेटसम्म दुवै टिमले बराबरी खेलेपछि पेनाल्टीबाट खेलको छिनोफानो भएको हो । पेनाल्टीमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई स्तब्ध बनाएको हो ।

अब फाइनल प्रवेशको लागि अर्जेन्टिनाले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले पहिलो क्वार्टरफाइनल खेलमा ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

प्रकाशित मिति:शनिबार, मंसिर २४, २०७९  ०४:२६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा