नेदरल्यान्ड्सलाई मेस्सीको डर
नेदरल्यान्ड्सलाई मेस्सीको डर

विश्वकप फुटबलको क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच आज (शुक्रबार) राति प्रतिस्पर्धा हुँदैछ । कतारको लुजेल रंगशालामा राति १२ः४५ बजे सुरु हुने खेलमा अर्जेन्टिनाले जित्ला की नेरल्यान्ड्सले ?

सुपर स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्न लागेको हो । नेदरल्यान्ड्सलाई अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको डर छ । कप्तान मेस्सी जुनसुकै अवस्थामा पनि टिमलाई जिताउन सक्ने कुशल खेलाडी हुन् । नेदरल्यान्ड्सको मुख्य रणनीति नै मेस्सीलाई रोक्ने हुनेछ ।

यसअघि सन् २०१४ को विश्वकपको सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको थियो । नेदरल्यान्ड्स सन् २०१४ को विश्वकपमा ब्यहोरेको हारको बदला लिन चाहन्छ भने अर्जेन्टिना फेरि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ ।

अर्जेन्टिना

विश्वकपको उपाधि जित्न सक्ने अर्को दाबेदार टिम हो, अर्जेन्टिना । प्रिक्वार्टरफाइनलमा अस्ट्रेलियालाई २–१ गोलले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको टिम हो ।

सुपर स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ । समूह ‘सी’ को विजेता बन्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो ।

समूह चरणको आफ्नो पहिलो खेलमा नै साउदी अरबसँग २–१ गोलको पराजयले अर्जेन्टिनाको विश्वकप यात्रा कठिन भएको थियो । तर बाँकी दुवै खेल जित्दै समूह विजेता बनेको हो । अर्जेन्टिनाले मेक्सिकोलाई २–० र पोल्यान्डलाई समूह चरणको अन्तिम खेलमा २–० ले नै पराजित गर्दै अर्जेन्टिनाले विश्वकपमा अगाडिको ढोका खोलेको थियो ।

सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि जित्ने दौडमा छ ।

नेदरल्यान्ड्स

नेदरल्यान्ड्स अर्जेन्टिनालाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । प्रिक्वार्टरफाइनलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा पुगेको टिम हो । 

विश्वकप फुटबलको उपाधि जिन्दै ऐतिहासिक उपलब्धि पाउने लक्ष्यमा नेदरल्यान्ड्स रहेको छ ।

समूह ‘ए’ को विजेता बन्दै नेदरल्यान्ड्स विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो । तीन खेलबाट सात अंक बनाएको नेदरल्यान्ड्स जारी विश्वकपमा अपराजित टिम हो । समूह चरणको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा इक्वेडरसँग १–१ गोलको बराबरी खेलेपनि समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोलले हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति:शुक्रबार, मंसिर २३, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा