कतार विश्वकपमा पहिलो ह्याट्रिक रामोसको नाममा
कतार विश्वकपमा पहिलो ह्याट्रिक रामोसको नाममा

पोर्चुगलका फरवार्ड गोन्कालो रामोसले कतार विश्वकप फुटबल २०२२ मा ह्याट्रिक गोल गरेका छन् । योसँगै उनी कतार विश्वकपमा पहिलो ह्याट्रिक गोल गर्ने खेलाडी भएका छन् ।

कतारको लुजेल रंगशालामा पोर्चुगलले स्वीट्जरल्यान्डविरुद्ध ५–१ गोलको फराकिलो अग्रता बनाउँदा रामोसले ह्याट्रिक गोल गरेका हुन् ।

खेलको १७औँ मिनेटमा नै रामोसले गोल गर्दै पोर्चुगललाई १–० गोलको अग्रता दिलाए । उनले जोआओ फेलिक्सको पासमा सुन्दर गोल गरेका हुन् । खेलको ३३औँ मिनेटमा पेपेले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै पोर्चुगललाई २–० गोलको अग्रता दिलाए । पेपेले यो गोल गरेसँगै उनी सबैभन्दा पाको उमेरमा विश्वकपको नकआउट चरणमा गोल गर्ने खेलाडी भएका छन् । उनी ३९ वर्ष ९ महिना पूरा भएका छन् । पेपे पोर्चुगलका मुख्य डिफेन्डर हुन् ।

खेलको ५१औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को अग्रता दिलाए । खेलको ५५औँ मिनेटमा राफेएल गुरेइरोले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रतामा पुर्याए । तर खेलको ५८औँ मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्वीट्जरल्यान्डलाई ४–१ को स्थितिमा पुर्याए । 

खेलको ६७औँ मिनेटमा रामोसले गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनको ह्याट्रिकसँगै पोर्चुगलले स्वीट्जरल्यान्डविरुद्ध ५–१ गोलको अग्रता बनाएको छ ।
 

प्रकाशित मिति:बुधबार, मंसिर २१, २०७९  ०२:२०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा