सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

इंग्ल्यान्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । विश्वकपको प्रिक्वार्टरफाइनलमा सेनेगललाई ३–० गोलले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

कतारको अल बेत रंगशालामा इंग्ल्यान्डले गोल गर्दै सेनेगलविरुद्ध सहज जित निकालेको हो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो ।

खेलको ३८औँ मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ५७औँ मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए ।

इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सले पोल्यान्डलाई ३–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति:सोमबार, मंसिर १९, २०७९  ०४:३१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा