
विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा इंग्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । बलियो टिम इंग्ल्यान्ड सेनेगललाई पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ ।
कतारको अल बेत रंगशालामा इंग्ल्यान्ड र सेनेगलबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै विश्वकपको आफ्नो यात्रालाई कायमै राख्ने लक्ष्यमा छन् ।
समूह ‘बी’ को विजेता बनेको इंग्ल्यान्डले तीन खेलबाट सात अंक बनाएको थियो । आफ्नो पहिलो खेलमा इरानलाई ६–२ गोलले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरी खेलेको थियो । समूह चरणको आफ्नो अन्तिम खेलमा वेल्सलाई ३–० गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।
यता, समूह ‘ए’ को उपविजेता बनेको सेनेगलले तीन खेलबाट ६ अंक बनाएको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० गोलले हारेको सेनेगलले दोस्रो खेलमा कतारलाई ३–१ र तेस्रो खेलमा इक्वेडरलाई २–१ गोलले पराजित गरेको थियो ।
तुलनात्मक रुपमा सेनेगलभन्दा इंग्ल्यान्ड बलियो टिम हो । सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्डलाई यो पटक पनि विश्वकपको उपाधिको दाबेदार टिमको रुपमा हेरिएको छ ।