
कतारमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीच राति १२ः४५ बजे प्रतिस्पर्धा हुँदैछ । उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजोर देखिएको अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल अहमद विन अली रंगशालामा हुनेछ । विश्वचर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना उपाधि दौडमा छ । अस्ट्रेलियालाई हराउँदै क्वार्टरफाइनलमा पुग्ने अर्जेन्टिनाको लक्ष्य छ ।
समूह ‘सी’ को विजेता बनेको अर्जेन्टिना आफ्नो पहिलो खेलमा नै साउदी अरबसँग २–१ गोलले पराजित भएको थियो । तर त्यसपछि मेक्सिकोलाई २–० र पोल्यान्डलाई पनि २–० गोलले नै पराजित गर्दै अर्जेन्टिना ६ अंक बनाएर समूह विजेता बनेको हो ।
यता, समूह ‘डी’ को उपविजेता बनेको अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले हारेको थियो । तर दोस्रो खेलमा ट्युनिसियालाई १–० र तेस्रो खेलमा डेनमार्कलाई पनि १–० गोलले नै पराजित गर्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा पुगेको हो ।