
कतारमा जारी विश्वकप फुटबलमा आज (शनिबार) देखि प्रिक्वार्टरफाइनलका खेलहरू सुरु हुँदैछन् । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकाको सामना गर्दैछ ।
अमेरिका र नेदरल्यान्ड्सबीचको खेल कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छन् ।
नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता टिम हो । नेदरल्यान्ड्सले समूह चरणमा सेनेगलविरुद्ध पहिलो खेलमा २–० को जित निकालेको थियो । दोस्रो खेलमा इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको नेदरल्यान्ड्सले तेस्रो खेलमा कतारलाई २–० गोलले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ को विजेता बनेको नेदरल्यान्ड्सले तीन खेलबाट सात अंक बनाएको थियो ।
यता, अमेरिका समूह ‘बी’ को उपविजेता टिम हो । अमेरिकाले पहिलो खेलमा वेल्ससँग १–१ र दोस्रो खेलमा इंग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा इरानलाई १–० गोलले हराउँदै अमेरिका समूह ‘बी’ को उपविजेता बनेको थियो ।