
विश्वकप फुटबलमा आज (शुक्रबार) समूह ‘एच’ का अन्तिम दुई खेल हुँदैछन् । एक खेलअघि नै विश्वकपको प्रिक्वार्टरफाइनलमा पुगिसकेको पोर्चुगलले दक्षिण कोरिया र उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्दैछ ।
पोर्चुगल र दक्षिण कोरियाबीचको खेल कतारको एजुकेशन सिटी रंगशालामा हुँदा दुई पटकको विश्वकप विजेता उरुग्वेले घानासँग अल जानौब रंगशालामा प्रतिस्पर्धा गर्दैछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।
पोर्चुगल यसअघि नै विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको छ । पोर्चुगलले आफ्नो पहिलो खेलमा घानालाई ३–२ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा उरुग्वेलाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाएको हो ।
पोर्चुगलले प्रिक्वार्टरफाइनलमा स्थान बनाउँदा यो समूहबाट नकआउट चरणमा पुग्ने दौडमा घानासँगै दक्षिण कोरिया र उरुग्वेको छन् । पोर्चुगललेको दुई खेलबाट ६ अंक हुँदा घानाको दुई खेलबाट तीन अंक छ । १–१ अंक बनाएको दक्षिण कोरिया र उरुग्वे तेस्रो र चौथो स्थानमा छ ।
घानालाई पराजित गर्दै उरुग्वे विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । तर उरुग्वेलाई बराबरीमा रोकेमा घाना नै विश्वकपको नकआउट चरणमा पुग्नेछ । यता, दक्षिण कोरियाको भने विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना निकै कम रहेको छ । घानालाई उरुग्वेले झिनो गोलअन्तरले पराजित गरेमा र यता, पोर्चुगललाई हराएको खण्डमा मात्रै दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना रहन्छ । तर यो एकदमै न्युन सम्भावना हो ।