रोचक बनेको समूह ‘एफ’: क्रोएसिया कि बेल्जियम ?
रोचक बनेको समूह ‘एफ’: क्रोएसिया कि बेल्जियम ?

विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ का अन्तिम दुई खेल आज हुँदैछन् । क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्दा मोरोक्कोले क्यानडासँग खेल्नेछ ।

यो समूह निकै रोचक बनेको छ । क्रोएसिया, मोरोक्को र बेल्जियम तीनवटै टिमको प्रिक्वार्टरफाइनलमा पुग्ने सम्भावना जीवितै छ । क्रोएसियाले बेल्जियमसँग अहमद विन अली रंगशालामा प्रतिस्पर्धा गर्दा क्यानडा र मोरोक्कोले अल थुमामा रंगशालामा खेल्नेछ । यी दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरू हुनेछ ।

बेल्जियमलाई पराजित गर्दै क्रोएसिया विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । यता, बेल्जियम पनि क्रोएसियालाई हराउँदै विश्वकपको नकआउट चरणमा पुग्ने दौडमा छ । तर, बराबरी भएको खण्डमा भने क्रोएसियाले अन्तिम १६ मा स्थान बनाउँदा बेल्जियम भने विश्वकपबाट बाहिरिनेछ । त्यस कारण बेल्जियमका लागि जित अनिवार्य छ ।

यता, मोरोकोलाई भने केही सहज देखिएको छ । आफ्नो अन्तिम खेलमा क्यानडासँग बराबरी खेल पनि मोरोक्को विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ । क्यानडालाई पराजित गरेको खण्डमा मोरोक्को स्वतः विश्वकपको नकआउटमा पुग्नेछ ।

यो समूहमा दुई खेलबाट चार अंक बनाएको क्रोएसिया शीर्ष स्थानमा रहँदा मोरोक्कोले पनि दुई खेलबाट चार अंक नै बनाएको छ । दुई खेलबाट तीन अंक बनाएको बेल्जियम डेन्जर जोनमा हुँदा दुई खेलबाट अंकविहीन क्यानडा विश्वकपबाट बाहिरिइसकेको छ ।

3331669870152.jpg

प्रकाशित मिति:बिहीबार, मंसिर १५, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा