अर्जेन्टिना समूह विजेताः पोल्यान्ड हारे पनि नकआउट चरणमा
अर्जेन्टिना समूह विजेताः पोल्यान्ड हारे पनि नकआउट चरणमा

अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गर्दै समूह ‘सी’ को विजेता बनेर विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता, पोल्यान्ड अर्जेन्टिनासँग पराजित भए पनि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा पोल्यान्डविरुद्ध अर्जेन्टिनाले २–० गोलको जित निकालेको छ । तर, यी दुवै टिम विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । अब प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाले समूह ‘डी’ को उपविजेता अस्ट्रेलियासँग खेल्नेछ भने पोल्यान्डले समूह ‘डी’ को विजेता फ्रान्ससँग खेल्नेछ ।

कतारको स्टेडियम ९७४ मा भएको खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । कप्तान लियोनल मेस्सीलाई डिबक्सभित्र पोल्यान्डका गोलकिपरले फोउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्न सकेनन् । उनले प्रहार गरेको बल पोल्यान्डका गोलकिपरले उत्कृष्ट बचाएका थिए । योसँगै अर्जेन्टिनाले १–० गोलको अग्रता बनाउनबाट चुकेको थियो ।

खेलको ४६औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । खेलको ६७औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका थिए । बाँकी समयमा गोल नभएपछि अर्जेन्टिनाले पोल्यान्डलाई २–० गोलले पराजित गरेको हो । यसै समूहको अर्को खेलमा मेक्सिको साउदी अरबलाई २–१ गोलले पराजित गरे पनि विश्वकपबाट बाहिरिन पुग्यो ।

समूह विजेता बनेको अर्जेन्टिनाले तीन खेलबाट ६ अंक बनायो । उपविजेता बनेको पोल्यान्डले तीन खेलबाट चार अंक बनायो । चार अंक नै बनाएको मेक्सिको भने गोलको आधारमा पोल्यान्डसँग पछि परेको हो । साउदी अरबले भने तीन खेलबाट तीन अंक बनायो । साउदी अरबले आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको थियो ।

331669842548.jpg

प्रकाशित मिति:बिहीबार, मंसिर १५, २०७९  ०२:५१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा