इंग्ल्यान्ड विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश
इंग्ल्यान्ड विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश

इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै कतारमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डले अहमद विन अली रंगशालामा वेल्सलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणको आफ्नो अन्तिम खेलमा वेल्सलाई ३–० गोलले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्दा वेल्स भने समूह चरणबाटै बाहिरिएको छ ।

इंग्ल्यान्डको जितमा मार्कुस राष्फोर्डले दुई र फिल फोडेनले एक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको इंग्ल्यान्डले तीनै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५०औँ मिनेटमा राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डलाई १–० गोलको अग्रता दिलाए । त्यसको एक मिनेटपछि अर्थात ५१औँ मिनेटमा फिल फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए । खेलको ६८औँ मिनेटमा राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए ।

यो जितसँगै तीन खेलबाट सात अंक बनाउँदै इंग्ल्यान्ड समूह विजेता बनेर विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । यता, पराजित वेल्सले भने तीन खेलबाट एक अंक बनाउँदै विश्वकपबाट बाहिरिएको छ ।

इंग्ल्यान्डले अब विश्वकपको प्रिक्वार्टरफाइनलमा सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ । सेनेगल समूह ‘ए’ को उपविजेता टिम हो ।

प्रकाशित मिति:बुधबार, मंसिर १४, २०७९  ०३:१७
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा