नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश
नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश

नेदरल्यान्ड्स विश्वकप फुटबलको समूह ‘ए’ को विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अल बेत रंगशालामा आयोजक कतारलााई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बनेको हो । यता, कतार भने तीनै खेलमा पराजित हुँदै अंक विहीन बनेर विश्वकपबाट बाहिरिएको छ ।

नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र फ्रेन्की डि जोङले गोल गरे । खेलको २६औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलो १–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । खेलको ४९औँ मिनेटमा डि जोङले गोल गरेपछि नेदरल्यान्ड्स २–० ले विजयी भएको हो । 

यो जितसँगै नेदरल्यान्ड् समूह ‘ए’ को विजेता बनेर विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले तीन खेलबाट सात अंक बनाउँदै विश्वकपको प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो । यता, कतारले भने तीन खेलबाट सबैमा हार ब्यहोर्दै बाहिरिएको छ । अब नेदरल्यान्ड्सले प्रिक्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेतासँग क्वार्टरफाइनल प्रवेशको लागि खेल्नेछ ।
 

प्रकाशित मिति:मंगलबार, मंसिर १३, २०७९  २२:४४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा