क्यामरुनले सर्वियाविरुद्ध फर्कायो तीन मिनेटमा दुई गोल
क्यामरुनले सर्वियाविरुद्ध फर्कायो तीन मिनेटमा दुई गोल

क्यामरुनले विश्वकप फुटबलको समूह ‘जी’ मा सर्वियाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै तीन मिनेटमा दुई गोल गरेसँगै खेल ३–३ गोलको बराबरीमा पुगेको छ ।

कतारको अल जानौब रंगशालामा ३–१ गोलले पछि परेको क्यामरुनले उत्कृष्ट प्रदर्शन गर्दै तीन मिनेटमा दुई गोल गर्न सफल भयो । 

खेलको २९औँ मिनेटमा जियान चार्ल्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई १–० गोलको अग्रता दिलाएका थिए । तर सर्वियाले पहिलो हाफको अन्तिम समयको दुई मिनेटमा दुई गोल गर्न गरेपछि क्यामरुन २–१ ले पछि परेको थियो । सर्वियाका स्ट्राहिन्जा पाभ्लोभिचले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी दिलाए । इन्ज्युरी समयको तेस्रो मिनेटमा सर्ज मिलिनकोभिच साभिचले गोल गर्दै सर्वियालाई पहिलो हाफसम्म २–१ को अग्रता दिलाएका थिए ।

खेलको ५३औँ मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्वियालाई ३–१ गोलको अग्रता दिलाएका थिए । तर क्यामरुनले पनि नाटकीय प्रदर्शन गर्दै लगातार दुई गोल गर्न सफल भयो । खेलको ६३औँ मिनेटमा भिन्सेन्ट अबौबकारले गोल गर्दै क्यामरुनलाई ३–२ को स्थितिमा पुर्र्याए । खेलको ६६औँ मिनेटमा इरिक म्याक्सिम मोटिङले गोल गरेपछि सर्वियाविरुद्ध क्यामरुनले ३–३ को बराबरी बनाएको हो ।

प्रकाशित मिति:सोमबार, मंसिर १२, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा