स्पेनविरुद्ध जर्मनीलाई जित्नै पर्ने दबाब, हारे विश्वकपबाट आउट
स्पेनविरुद्ध जर्मनीलाई जित्नै पर्ने दबाब, हारे विश्वकपबाट आउट

चार पटकको विश्वकप विजेता जर्मनी र एक पटकको विजेता स्पेनबीच आज राति १२ः४५ बजे प्रतिस्पर्धा हुँदैछ । समूह चरणको सबैभन्दा रोमाञ्चक र कडा प्रतिस्पर्धा मानिएको खेल हो यो ।

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ मा रहेको जर्मनी र स्पेनबीचको खेल अल बेत रंगशालामा हुनेछ । जर्मनीका लागि यो खेल ‘गर या मर’ को अवस्थामा छ । यदि जर्मनी यो खेलमा पराजित भए विश्वकपबाट बाहिरिनेछ । तर, जर्मनीले स्पेनलाई पराजित गरे अथवा बराबरी खेलेमा पनि जर्मनीको विश्वकप यात्रा कायमै रहनेछ ।

यता, स्पेन भने विश्वकप फुटबलको नकआउट चरण नजिक छ । स्पेनले जर्मनीलाई पराजित गरेमा अन्तिम १६ मा स्थान बनाउने छ । तर, जर्मनीसँग हारेको खण्डमा पनि स्पेनको प्रि-क्वार्टरफाइनलमा पुग्ने सम्भावना कायमै रहन्छ ।

यसअघि जर्मनीले आफ्नो पहिलो खेलमा एसियाली राष्ट्र जापानसँग २-१ गोलको हार ब्यहोरेको थियो । यता, स्पेनले भने कोस्टारिकालाई ७-० गोलले हराएको थियो ।

जर्मनीले अहिलेसम्म आठ पटक विश्वकप फुटबलको फाइनल खेल्दा चार पटक विश्वकप फुटबलको उपाधि जितेको छ । सन् १९५४, १९७४, १९९० र २०१४ गरी जर्मनीले चार पटक विश्वकप जित्न सफल भएको छ । यता, स्पेनले सन् २०१० मा विश्वकप फुटबलको उपाधि जितेको थियो ।

प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा