
अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेको साउदी अरबले आज (शनिबार) विश्वकप फुटबलमा पोल्यान्डसँग नेपाली समयअनुसार साँझ ६ः४५ बजे प्रतिस्पर्धा गर्दैछ ।
पोल्यान्डलाई पराजित गरे साउदी अरबले अर्को ऐतिहासिक सफलता पाउने छ । साउदी अरब पोल्यान्डलाई पराजित गर्दै विश्वकपको प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ । यता, रोबर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्ड साउदी अरबलाई पराजित गर्दै पहिलो जित निकाल्ने दाउमा छ ।
समूह ‘सी’ मा रहेको साउदी अरबले आफ्नो पहिलो खेलमा दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको थियो । यो ऐतिहासिक जितमा साउदीका राजा सलमानले देशमा उत्सव मनाउन एक दिन सार्वजनिक विदा नै दिएका थिए । साउदी पोल्यान्डविरुद्ध पनि त्यस्तै, सनसनीपूर्ण जितको खोजिमा हुनेछ ।
यता, पोल्यान्ड विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायमै राख्नका लागि साउदीलाई हराउने लक्ष्यमा छ । यसअघि पोल्यान्डले मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको थियो ।