
ब्राजिलले कतारमा जारी विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । समूह ‘जी’ मा रहेको ब्राजिलले कतारको लुजेल रंगशालामा सर्बियालाई २–० गोलले पराजित गरेको हो ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ब्राजिललाई जिताउन दुवै गोल रिचार्लिसनले गरे ।
पहिलो हाफमा ब्राजिलविरुद्ध राम्रो खेलेको सर्बियाले त्यसको तुलनामा दोस्रो हाफमा राम्रो खेल्न सकेन । खेलको ६०औँ मिनेटमा एलेक्स सान्ड्रोले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएपछि ब्राजिलले अग्रता बनाउने मौका गुमायो । खेलको ६२औँ मिनेटमा ब्राजिलले गोल गर्दै १–० गोलको अग्रता बनायो । ब्राजिलका लागि रिचार्लिसनले गोल गरे ।
खेलको ७३औँ मिनेटमा रिचार्लिसनले नै व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा सर्बियाले गोल फर्काउन नसकेपछि खेल ब्राजिलले सहज रूपमा जितेको हो ।
समूह ‘जी’ मा ब्राजिलसँगै सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन छन् ।