इरानको पोष्टमा इंग्ल्यान्डको आधा दर्जन गोल
इरानको पोष्टमा इंग्ल्यान्डको आधा दर्जन गोल

इंग्ल्यान्डले कतारमा जारी विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । सोमबार राति भएको खेलमा इंग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गरेको हो ।

समूह ‘बी’ मा रहेको इंग्ल्यान्डले खालिफा अन्तर्राष्ट्रिय रंगशालामा इरानविरुद्ध गोलको वर्षा नै गर्यो । इंग्ल्यान्डका लागि बोकायो साकाले दुई गोल गरे । त्यस्तै, जुडे बेलिङहम, रहिम स्टर्लिङ, मार्कस राष्फोर्ड र ज्याक ग्रेलिसले समान १–१ गोल गरे । यता, इरानका लागि मेहदी तारेमीले दुई गोल गरे ।

खेलको ३५औैँ मिनेटमा जुडे बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । सुरुआती समयदेखि नै इरानविरुद्ध दबाब बनाएको इंग्ल्यान्डका लागि ४३औँ मिनेटमा बोकायो साकाले गोल गर्दै २–० को अग्रता दिलाए ।

पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै रहिम स्टर्लिङले इंग्ल्यान्डलाई ३–० को अग्रता दिलाए । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुग्यो । खेलको ६२औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४–० गोलको अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि अर्थात खेलको ६५औँ मिनेटमा इरानले गोल फर्कायो । मेहदी तारेमीले गोल गर्दै इरानलाई ४–१ गोलको स्थितिमा पु¥याए ।

खेलको ७०औँ मिनेटमा साकाको स्थानमा मैदानमा छिरेका राष्फोर्डले खेलको ७१औँ मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ५–१ को फराकिलो अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ६–१ गोलको अग्रता दिलाए । खेलको इन्ज्युरी समयको अन्तिममा इरानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट तारेमीले गोल गर्दै ६–२ को स्थितिमा ल्याएपनि इंग्ल्यान्डले जित निकालेको हो ।

यो जितसँगै इंग्ल्यान्डले तीन अंक जोडेको छ । 

प्रकाशित मिति:सोमबार, मंसिर ५, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा