चार पटकको विश्व विजेता जर्मनी
चार पटकको विश्व विजेता जर्मनी

जर्मनीले अहिलेसम्म चार पटक विश्वकपको उपाधि जितेको छ । जर्मनीले आफूलाई सधैँ बलियो टिमका रूपमा विश्वकपमा स्थापित गर्दै आएको छ ।

अहिलेसम्म जर्मनी आठ पटक फाइनलमा पुगेको छ । चार पटक उपाधि जित्दा चार पटक भने उपविजेतामै सीमित बनेको छ । त्यस्तै, जर्मनी तेस्रो तीन पटक र चौथो एक पटक भएको छ । सन् १९६६, १९८२, १९८६, २००२ मा जर्मनी उपविजेता बनेको थियो । सन् १९७०, २००६ र २०१० मा गरी तीन पटक तेस्रो भएको जर्मनी सन् १९५८ मा भने चौथो भएको थियो ।

अहिलेसम्मको विश्वकप फुटबलको इतिहासलाई हेर्ने हो भने पनि फाइनलमा सबैभन्दा बढी पुगेको देश हो जर्मनी । सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपदेखि जर्मनीले सहभागिता जनाउँदै आएको छ । यद्यपि, दोस्रो विश्व युद्धको सिकार बनेको जर्मनीले सन् १९५० मा ब्राजिलमा भएको विश्वकप भने खेलेन ।

सन् १९५४ 

स्वीट्जरल्यान्डमा सन् १९५४ मा भएको विश्वकपको उपाधि जर्मनीले पहिलो पटक जितेको थियो । त्यसबेला फाइनलमा जर्मनीले हंगेरीलाई ३–२ गोलअन्तरले पराजित गर्दै इतिहास रचेको थियो । 

यसमा रोचक तथ्य के छ भने जर्मनीले समूह चरणमा हंगेरीसँग ८–३ गोलले पराजित भएको थियो । फराकिलो अन्तरले पराजित भए पनि जर्मनी समूह उपविजेता हुँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनलमा युगोस्लाभियालाई २-० ले हराएको जर्मनीले सेमिफाइनलमा अस्ट्रियालाई ६–१ गोलले पराजित गरेको थियो । समूह चरणमा ब्यहोरेको नमिठो हारलाई बदला लिँदै जर्मनीले फाइनलमा हंगेरीलाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।

सन् १९७४ 

सन् १९७४ मा भएको विश्वकपको उपाधि जर्मनीले आफ्नै भूमिमा जित्यो । १९७४ को विश्वकप जर्मनीले पहिलो पटक आयोजना गर्ने अवसर पाएको थियो । यो विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै दोस्रो पटक जर्मनीले विश्वकप जितेको थियो ।

सन् १९९०

इटालीमा सन् १९९० मा भएको विश्वकपको पनि उपाधि जर्मनीले जितेको थियो । फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको थियो । प्रि–क्वार्टरफाइनलमा जर्मनीले नेदल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । 

क्वार्टरफाइनलमा चेकोस्लोभाकियालाई १–० ले हराएको जर्मनीले सेमिफाइनलको पेनाल्टीमा इंग्ल्यान्डलाई ४–३ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा अर्जेन्टिनालाई हराउँदै तेस्रो पटक जर्मनीले विश्वकप जितेको थियो ।

सन् २०१४

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई नै फाइनलमा पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकप जित्न सफल भयो ।  प्रि–क्वार्टरफाइनलमा अल्जेरियालाई थप गरिएको अतिरिक्त समयमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको जर्मनीले फ्रान्सलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा ब्राजिललाई ७-१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा अर्जेन्टिनालाई १-० गोलले हराएसँगै जर्मनीले चौथो पटक विश्वकप जितेको हो ।

प्रकाशित मिति:शनिबार, मंसिर ३, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा