
अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
कतारको लुजेल रंगशालामा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियनअल्भारेजले दुई र कप्तान लियोनल मेस्सीले एक गोल गरेका हुन् ।
पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा थप एक गोल गर्दै क्रोएसियाविरुद्ध सहज जित निकालेको हो । खेलको ३२औँ मिनेटमा अल्भारेजलाई क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले डिबक्सभित्र फोउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै कप्तान मेस्सीले अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाए । खेलको ३४औँ मिनेटमा पेनाल्टीबाट गोल खाएको क्रोएसिया दबाबमा आएको थियो ।
खेलको ३९औँ मिनेटमा अल्भारेजले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्यो । खेलको ६९औँ मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० गोालको अग्रता दिलाए । उनले कप्तान मेस्सीको एसिस्टमा गोल गरे । बाँकी समयमा क्रोएसियालाई रोक्दै अर्जेन्टिनाले जित निकालेको हो ।
योसँगै अर्जेन्टिनाले सन् २०१८ को विश्वकप फुटबलको समूह चरणमा क्रोएसियासँग ब्यहोरेको हारको बदलासमेत लिएको छ । त्यो खेलमा क्रोएसियासँग अर्जेन्टिना ३–० ले स्तब्ध बनेको थियो ।
प्रिक्वार्टरफाइनलमा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई पराजित गरेको क्रोएसिया विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको छ । यता, अर्जेन्टिनाले भने विश्वकप उपाधिको लागि फ्रान्स र मोरोक्कोबीचको विजेतासँग पुस ३ गते खेल्नेछ ।