विश्वकप सेमिफाइनलः लियोनल मेस्सी कि लुका मोड्रिच ?
विश्वकप सेमिफाइनलः लियोनल मेस्सी कि लुका मोड्रिच ?

विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया प्रतिस्पर्धा गर्दै गर्दा सबैको केन्द्रमा हुनेछन् लियोनल मेस्सी र लुका मोड्रिच । विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको रफ्तारलाई पूर्णविराम लगाउने लक्ष्यमा हुने छन् क्रोएसियाको कप्तान लुका मोड्रिच ।

अर्जेन्टिना र क्रोएसियाबीचको खेल कतारको लुजेल रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिना क्रोएसियालाई पराजित गर्दै विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ । कप्तान लियोनल मेस्सी विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउँदै खेल जीवनबाट विदाइ हुने लक्ष्यमा छन् । लगातार पाँचौँ विश्वकप खेलिरहेका लियोनल मेस्सी सबैको केन्द्रमा छन् । हुन त, क्रोएसिया भने मेस्सीलाई रोके खेल जित्न सकिन्छ भन्ने रणनीतिमा छ ।

यसअघि सन् २०१८ को विश्वकप फुटबलको समूह चरणमै अर्जेन्टिना र क्रोएसियाबीचको भेट भएको थियो । जुन खेलमा अर्जेन्टिना क्रोएसियासँग ३–० ले स्तब्ध बनेको थियो । त्यही नतिजालाई दोहोर्याउने दाउमा क्रोएसिया रहेको छ । तर अर्जेन्टिना भने त्यो हारको बदला लिदै विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ ।

अर्जेन्टिना

अर्जेन्टिनालाई विश्वकप फुटबलको प्रमुख दाबेदार टिमको रुपमा हेरिएको छ । पहिलो खेलमा नै साउदी अरबसँग अप्रत्यासित हार ब्यहोरेको अर्जेन्टिनाले त्यसपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।

समूह ‘सी’ को विजेता बन्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नै साउदी अरबसँग २–१ गोलले हारेको अर्जेन्टिनाको विश्वकप यात्रा कठिन बनेको थियो । तर बाँकी दुवै खेल जित्दै समूह विजेता बनेको हो । अर्जेन्टिनाले मेक्सिकोलाई २–० र पोल्यान्डलाई समूह चरणको अन्तिम खेलमा २–० ले नै पराजित गरेको थियो ।

argentina1670916792.jpg

प्रिक्वार्टरफाइनलमा अस्ट्रेलियालाई २–१ गोलले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको टिम हो । क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि जित्ने दौडमा छ ।

क्रोएसिया

सन् २०१८ को विश्वकप उपविजेता क्रोएसिया यो पटक पनि फाइनलमा पुग्ने लक्ष्यमा छ । समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको क्रोएसियाले जापान र ब्राजिललाई हराउँदै सेमिफाइलसम्मको यात्रा तय गरेको हो ।

क्रोएसियाले समूह चरणको आफ्नो पहिलो खेलमा मोरोक्कोसँग बराबरी खेलेको थियो । क्यानडालाई ४–१ गोलले हराएको क्रोएसियाले समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्दै नकआउट चरणमा स्थान बनाएको थियो । 

croatia1670916810.jpg

प्रिक्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा एसियाली राष्ट्र जापानलाई ३–१ ले पराजित गर्दै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म जापानसँग १–१ गोलको बराबरी खेलेको क्रोएसियाले पेनाल्टी सुटआउटमा जित निकालेको थियो ।

ब्राजिलविरुद्धको क्वार्टरफाइनलमा क्रोएसियाले उत्कृष्ट प्रदर्शन गर्यो । निर्धारित ९० मिनेटसम्म ब्राजिललाई क्रोएसियाले बराबरीमा रोकेको थियो । थप गरिएको ३० मिनेटसम्म १–१ गोलको बराबरी खेलेको क्रोएसियाले पेनाल्टीमा ब्राजिललाई स्तब्ध बनायो ।

प्रकाशित मिति:मंगलबार, मंसिर २७, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा