
क्यानडाविरुद्धको समूहण चरणको खेलमा आफ्नै गल्तिले खाएको आत्मघाती गोलबाहेक मोरोक्कोले विपक्षी टिमबाट गोल खाएको छैन ।
पहिलो पटक अफ्रिकन राष्ट्र विश्वकपको सेमिफाइनलमा पुग्दै इतिहास बनाउँदा मोरोक्कोले केही यस्ता रोचक तथ्य पनि बनाएको छ । विश्वकप सुरु हुनुअघि मोरोक्कोलाई कमजोर टिमको रुपमा गनिन्थ्यो । हुन पनि मोरोक्कोले यो विश्वकपभन्दा अघिको प्रदर्शन विर्सन लायक नै छ ।
समूह ‘एफ’ बाट क्रोएसिया र बेल्जियम नकआउट चरणमा पुग्ने सबैले अनुमान गरे । तर विश्व जगतलाई मात खुवाउँदै मोरोक्को सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।
मोरोक्कोले समूह चरणमा क्रोएसिया, बेल्जियम, क्यानडासँग प्रिक्वार्टरफाइनलमा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगलसँग खेल्यो । क्रोएसियासँग बराबरी खेलेको मोरोक्कोले बाँकी सबै टिमलाई हराउँदै ऐसितहासिक सफलता पाएको हो ।
समूह चरणको आफ्नो पहिलो खेलमा क्रोएसियासँग मोरोक्कोले गोलरहित बराबरी खेल्यो । दोस्रो खेलमा बेल्जियमलाई २–० गोलले स्तब्ध बनायो । समूह चरणको आफ्नो अन्तिम खेलमा क्यानडालाई २–१ गोलले हरायो । क्यानडाविरुद्धको खाएको त्यो एक गोल पनि आत्मघाती थियो । खेलको ४०औँ मिनेटमा नायफ अगुर्डले बचाउने हुँदा आफ्नै पोष्टमा गोल गरेपछि मोरोक्कोले गोल खाएको थियो ।
प्रिक्वार्टरफाइनलमा २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै मोरोक्को क्वार्टरफाइनलमा पुगेको थियो । क्वार्टरफाइनलमा विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई १–० गोलले पराजित गर्दै मोरोक्को विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । मोरोक्कोले अब फाइनलका लागि विश्वविजेता फ्रान्ससँग खेल्दैछ । सेमिफाइनलसम्मको यात्रा तय गर्दा मोरोक्कोविरुद्ध विपक्षी टिमका खेलाडीले एक गोल पनि गर्न सकेका छैनन् ।
सेमिफाइनलमा पुग्नु मोरोक्कोका लागि अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । यसअघि मोरोक्कोले ३६ वर्षअघि विश्वकपको प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यसयता, मोरोक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । तर कतार विश्वकपमा एकपछि अर्का बलिया राष्ट्रलाई पराजित गर्दै मोरोक्कोले आफ्नो मनोबललाई उच्च बनाएको छ ।