
अफ्रिकन राष्ट्र मोरोक्कोले पोर्चुृगललाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप फुटबलको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको मोरोक्कोले ऐतिहासिक उपलब्धि पाएको छ ।
कतारको अल थुमामा रंगशालामा मोरोक्कोले पोर्चुगललाई १–० गोलले हराएको हो । पहिलो हाफमा बनाएको अग्रता कायमै राख्दै बलियो टिम पोर्चुगललाई हराएको हो । मोरोक्कोको जितमा युसुफ इन नेसिरीले गोल गरे ।
मोरोक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ इन नेसिरीले गोल गर्दै १–० को अग्रता दिलाए । पहिलो हाफमा नै एक गोलले पछि परेको पोर्चुगलले गोल गर्ने अवसर राम्रो पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।
विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो भने पोर्चुगलको प्लेइङ इलाभेनमा परेका थिएनन् । खेलको ५१औँ मिनेटमा रुबेन नेभेसको स्थानमा मैदानमा छिरेका कप्तान रोनाल्डोले पनि पोर्चुगललाई हारबाट बचाउन सकेनन् ।
यसअघि प्रिक्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि मोरोक्कोले ३६ वर्षअघि विश्वकपको प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यसयता, मोरोक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । तर कतारमा जारी विश्वकपमा मोरोक्कोले ऐतिहासिक सफलता पाइरहेको छ ।