फाइनलका लागि अर्जेन्टिना र क्रोएसिया खेल्ने
फाइनलका लागि अर्जेन्टिना र क्रोएसिया खेल्ने

विश्वकप फुटबल २०२२ को फाइनलका लागि अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाले क्रोएसियासँग मंसिर २८ गते कतारको लुजेल रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।

क्रोएसियाले पहिलो क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो । कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी खेले । थप गरिएको ३० मिनेट समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । उनले यो गोलसँगै फुटबलका जादुगर भनेर चिनिने पेलेको ७७ गोलको रेकर्ड बराबरी बनाएका थिए । खेलको ११६औँ मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरी दिलाए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो ।

पेनाल्टीमा ब्राजिलविरुद्ध क्रोएसियाले जित निकाल्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । क्रोएसियाका लागि पेनाल्टीमा निकोला भ्लासिच, लोभ्रो मजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका रोड्रिगोले प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपरले बचाए । क्यासेमिरो र पेड्रोले गोल गरे । माक्र्वीन्होसले गोल गर्न नसकेपछि क्रोएसियाले ४–२ ले ब्राजिललाई हराएको हो ।

croatia1670626337.jpg

दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल पनि पेनाल्टी सुटआउटमै पुगेर टुंगो लाग्यो । नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् २०१४ को विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमै ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

कतारको लुजेल रंगशालामा अर्जेन्टिना र नेदरल्यान्ड्सले निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरी खेलेका थिए । अर्जेन्टिनाले दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्ससँग निर्धारित समयसम्म बराबरी खेलेको थियो । खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । तर थप गरिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीबाट टुंगो लागेको हो ।

 

नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिनाका लागि नेहुएल मोलिना र कप्तान लियोनल मेस्सीले गोल गरे । नेदरल्यान्ड्सका लागि दुवै गोल वोउट वेगहस्र्टले गरे । खेलको ३५औँ मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कप्तान लियोनल मेस्सीको एसिस्टमा गोल गर्दै उनले अर्जेन्टिनालाई पहिलो हाफसम्म १–० को अग्रता दिलाए ।
खेलको ७१औँ मिनेटमा अर्जेन्टिनाका मार्कोस अकुनालाई फोउल गरेपनि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट गोल गर्दै कप्तान मेस्सीले अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । खेलको ८३औँ मिनेटमा नेदरल्यान्ड्सले गोल गर्दै खेल २–१ गोलको स्थितिमा ल्यायो । नेदरल्यान्ड्सका लागि वोउट वेगहस्र्टले गोल गरे । खेलको केही सेकेन्ड बाँकी छँदा वेगहस्र्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–२ को बराबरीमा पुर्याए ।

निर्धारित ९० र थप गरिएको ३० मिनेटसम्म दुवै टिमले बराबरी खेलेपछि पेनाल्टीबाट खेलको छिनोफानो भएको हो । पेनाल्टीमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई स्तब्ध बनाएको हो ।

प्रकाशित मिति:शनिबार, मंसिर २४, २०७९  ०४:५१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा