News 24 Television
के सुध्रिएला ओली र माधवको सम्बन्ध ?
oli ra madhav

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको करिब पाँच दशक लामो राजनीतिक सम्बन्ध ‘डिभोर्स’ भएको साढे दुई वर्ष भयो ।

२०७८ भदै ९ गते निर्वाचन आयोगमा एकीकृत समाजवादी दर्ता भएपछि राजनीतिक डिभोर्स भएसँगै ओली र माधव २९ महिनादेखि औपचारिक संवादमा छैनन् ।

उनीहरुको डिभोर्सी सम्बन्ध पुनर्मिलनमा परिणत भइहाल्ने संकेत पनि देखिँदैन ।

२०७७ पुस ५ गते संसद् विघटनपछि तत्कालीन नेकपा विभाजनसँगै एमालेभित्र चर्किएको अन्तरविरोधको समाधान खोजेर पार्टी विभाजन रोक्न ओली र माधवबीच २०७८ वैशाख ९ गते मेरियट होटलमा अन्तिम औपचारिक भेटवार्ता भयो  । तर, भेटवार्ता विभाजन रोक्ने अचुक अस्त्र बनेन  ।

सर्वोच्च अदालतको फैसलाबाट २०७८ असार २९ गते नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए ।

तत्कालीन प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै २०७८ भदै ९ गते एमाले विभाजित भयो । त्यसपछि दुवै नेताबीच आपसी तिक्तता चुलियो र सार्वजनिक मञ्चमा दुवै तिक्त गालिगलोजमा उत्रिने थाले ।

उनीहरूले सार्वजिनक रुपमा दिने अभिव्यक्ति सुन्दा सम्बन्ध सुधार असम्भवजस्तै छ । एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सिध्याउन खोजीरहेको माधवले आरोप लगाउने गरेका छन् ।

पार्टी विभाजन गरेर हिँडेपछि एमाले अध्यक्ष ओलीले माधवमाथि विभिन्न लाञ्छना लगाउने गरेका छन् ।

१५ वर्ष पार्टीको नेतृत्व गरेर माधवले एमाले ध्वस्त पारेको ओलीले आरोप लगाउने गरेका छन् ।

माधवले अब कहिल्यै चुनाव नजित्ने ठोकुवा समेत ओलीले गर्ने गरेका छन् ।

ओली र माधवबीचको सम्बन्ध ४९ बर्ष पुरानो हो । झापा आन्दोलनका क्रममा २०२९ सालमा चिनापर्ची भएर त्यसयता उनीहरुले सहयात्रा गर्दै आएका थिए ।

नवौं महाधिवेशन अघिसम्म पार्टीभित्र ओली र माधव लामो समयसम्म एउटै गुटका नेता थिए ।
२०५१÷५२ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकारमा माधव रक्षा र परराष्ट्रमन्त्री थिए भने ओली गृहमन्त्री थिए ।

अहिले यी दुई नेता नदीको किरानाजस्तै भएपनि वैचारिक राजनीतिक विषयका मुद्दामा भने दुवै एकै ठाउँमा देखिन्छन् ।

संगठनात्मक र कार्यशैलीगत विषयमा परेको अन्तरसंघर्षले वल्लो र पल्लो छेउमा ओली र माधवलाई पु¥याए पनि जनताको बहुदलीय जनवाद (जबज)को विषयमा उनीहरूको समान धारणा देखिन्छ ।

आखिर एउटै राजनीतिक लाइन हुँदाहुँदै ओली र माधव किन एकै ठाउँ रहन सकेनन् ?

दुईवटा बेग्लै पार्टी बनाउनुपर्ने
राजनीतिक÷वैचारिक मतभेद के आइपर्यो ?

अथवा, ओली र नेपालबीच एकै ठाउँमा बस्नै नसक्ने के कारण आइलाग्यो ? यसमा माधवको तर्क सुन्ने हो भने ओली दक्षिणपन्थी र राजावादी भएकाले एमाले पुनर्गठन गर्नुपरेको हो ।

‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन’ यो उक्ति ओली–माधवको लामो सम्बन्धमा शतप्रतिशत लागू भएको छ ।

२०५४ सालपछि उतारचढावपूर्ण सम्बन्धमा जेलिएका यी दुई नेता नवौँ महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धा गरेका थिए ।

जसमा माधवलाई ५५ मतान्तरमा हराउँदै ओलीले अध्यक्षमा बाजी मारेका थिए ।

ओलीको नेतृत्वपछि यी दुईबीच धेरैपटक सार्वजनिक रूपमै भनाभन भयो । दुवैले सयौँपटक कटु आलोचना पनि गरे । तर, अप्ठ्यारो पर्दा परामर्शका लागि दुवै नेता एक–अर्कालाई भेट्न वेलाबखत निवासमा ओहोर–दोहोर गरिरहे ।

यति मात्रै होइन, सँगै बसेर ‘बर्थ डे’समेत मनाउथे  । दुई नेताको सम्बन्ध घाम–पानीजस्तो छ  ।

यस्तै घामपानी सम्बन्धले दुई नेताबीच जुनसुकै वेला पुनर्मिलन हुने सम्भावना रहेको चर्चा गर्ने गरिन्छ  । तर, नदीको दुई किनारा बनिसकेका ओली र माधवको सम्बन्धु सुध्रिन चाहिँ निकै कठिन देखिन्छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update