क्रोएसियाको रणनीति नेयमारलाई रोक्ने
क्रोएसियाको रणनीति नेयमारलाई रोक्ने

विश्वकप फुटबलको क्वार्टरफाइनलका खेलहरू आज (शुक्रबार) बाट सुरू हुँदैछ । विश्वकपको क्वार्टरफाइनलको पहिलो खेलमा क्रोएसियाले ब्राजिलसँग आज राति ८ः४५ बजे खेल्दैछ ।

क्रोएसिया र ब्राजिलबीचको खेल कतारको एजुकेशन सिटी रंगशालामा हुनेछ । ब्राजिल बलियो टिम हो । विश्वकपको मुख्य दाबेदार टिम ब्राजिल क्रोएसियालाई हराउँदै विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । २०१८ को विश्वकपको उपविजेता क्रोएसिया ब्राजिललाई हराउने दाउमा छ ।

ब्राजिलको बलियो पक्ष भनेकै फरवार्ड र मिडफिल्ड हो । नेयमार, रिचार्लिसन, गाब्रिएल मार्टिनेली रोड्रिगो र पेड्रो जस्ता फरवार्ड छन् । क्यासेमिरो, फाविन्हो, लुकास पाक्वेटा, फ्रेड जस्ता मिडफिल्डर छन् । क्रोएसियाको मुख्य रणनीति नै नेयमारलाई रोक्ने लक्ष्य छ ।

ब्राजिल

ब्राजिल विश्वकप फुटबलको उपाधिको प्रमुख दाबेदार राष्ट्र हो । पाँच पटकको विश्वकप विजेता ब्राजिलको टिममा नेयमार फर्किएसँगै थप बलियो बनेको छ । ब्राजिलले प्रिक्वार्टरफाइनलमा दक्षिण कोरियालाई ४–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
ब्राजिल समूह ‘जी’ को विजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो । ब्राजिलले तीन खेलबाट ६ अंक बनायो । पहिलो खेलमा सर्वियालाई २–० गोलले पराजित गरेको ब्राजिलले दोस्रो खेलमा स्वीट्जरल्यान्डलाई १–० गोलले पराजित गरेको थियो । तर समूह चरणको आफ्नो अन्तिम खेलमा ब्राजिलले क्यामरुनसँग १–० गोलको लज्जास्पद हार ब्यहोरेको थियो ।
सर्बियाविरुद्धको खेलमा चोट बोकेका नेयमार प्रिक्वार्टरफाइनलमा दक्षिण कोरियाविरुद्धको खेलबाट टिममा फर्किएका छन् । उनको पुनरागमनसँगै टिमलाई थप उर्जा मिलेको छ । तर ब्राजिलका गाब्रियल जिसस भने विश्पकपबाट बाहिरिएका छन् । क्यामरुनविरुद्धको खेलमा चोट बोकेका उनले विश्वकप नै गुमाएका हुन् ।
सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँच पटक विश्वकप जितेको ब्राजिल यो विश्वकपमा पनि उपाधि जित्ने लक्ष्यमा छ ।

क्रोएसिया

पेनाल्टी सुटआउटमा एसियाली राष्ट्र जापानलाई ३–१ ले पराजित गर्दै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको टिम हो । ब्राजिललाई हराउँदै विश्वकपको सेमिफाइनलमा पुग्ने संकल्पमा क्रोएसिया रहेको छ ।

समूह ‘एफ’ को उपविजेता बनेको क्रोएसियाले समूह चरणको आफ्नो पहिलो खेलमा मोरोक्कोसँग बराबरी खेलेको थियो । क्यानडालाई ४–१ गोलले हराएको क्रोएसियाले समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्दै नकआउट चरणमा स्थान बनाएको थियो ।

प्रकाशित मिति:शुक्रबार, मंसिर २३, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा