विश्वकप फुटबलः क्वार्टरफाइनलका कुन टिम कस्ता ?
विश्वकप फुटबलः क्वार्टरफाइनलका कुन टिम कस्ता ?

कतारमा जारी विश्वकप फुटबलको उपाधि दौडमा अर्जेन्टिना, पोर्चुगल, इंग्ल्यान्ड, मोरोक्को, नेदरल्यान्ड्स, फ्रान्स, क्रोएसिया र ब्राजिल छन् । शुक्रबार (भोलि) देखि विश्वकप फुटबलको क्वार्टरफाइनल सुरु हुँदा सेमिफाइनलमा कुनकुन टिम पुग्छन् भन्ने धेरैको चासो छ ।

अहिले क्वाटरफाइनलमा पुगेका ८ टिममध्ये ४ टिमले यसअघि विश्वकप जितिसकेका छन् भने ४ वटाले हालसम्म उपाधि चुमेका छैनन् । क्वाटरफाइनलमा पुग्ने टिमको बारेमा केही चर्चा ।

ब्राजिल

ब्राजिल विश्वकप फुटबलको उपाधिको प्रमुख दाबेदार राष्ट्र हो । ब्राजिलले क्वार्टरफाइनलमा शुक्रबार राति क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । क्रोएसिया र ब्राजिलबीचको खेल कतारको एजुकेसन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजे हुँदैछ ।

टिममा नेयमार फर्किएसँगै पाँचपटकको विश्वविजेता ब्राजिल थप बलियो बनेको छ । ब्राजिलले प्रिक्वार्टरफाइनलमा दक्षिण कोरियालाई ४–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

ब्राजिल समूह ‘जी’ को विजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो । ब्राजिलले तीन खेलबाट ६ अंक बनायो । पहिलो खेलमा सर्बियालाई २–० गोलले पराजित गरेको ब्राजिलले दोस्रो खेलमा स्वीट्जरल्यान्डलाई १–० गोलले पराजित गरेको थियो । तर, समूह चरणको आफ्नो अन्तिम खेलमा क्यामरुनसँग १–० गोलको पराजय ब्यहोरेको थियो ।

brazil1670492349.jpg

सर्बियाविरुद्धको खेलमा चोट बोकेका नेयमार प्रिक्वार्टरफाइनलमा दक्षिण कोरियाविरुद्धको खेलबाट टिममा फर्किएका छन् । उनको पुनरागमनसँगै टिमलाई थप ऊर्जा मिलेको छ । तर, ब्राजिलका गाब्रियल जिसस भने विश्पकपबाट बाहिरिएका छन् । क्यामरुनविरुद्धको खेलमा चोट बोकेका उनले विश्वकप नै गुमाएका हुन् ।

सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिल यो विश्वकपमा पनि उपाधि जित्ने लक्ष्यमा छ ।

 

अर्जेन्टिना

विश्वकपको उपाधि जित्न सक्ने अर्को दाबेदार टिम हो, अर्जेन्टिना । प्रिक्वार्टरफाइनलमा अस्ट्रेलियालाई २–१ गोलले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको टिम हो ।

अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । कतारको लुजेल रंगशालामा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

सुपर स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रोपटक विश्वकप जित्ने लक्ष्यमा छ । समूह ‘सी’ को विजेता बन्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो ।

argentina1670492367.jpg

समूह चरणको आफ्नो पहिलो खेलमा नै साउदी अरबसँग २–१ गोलको पराजयले अर्जेन्टिनाको विश्वकप यात्रा कठिन भएको थियो । तर, बाँकी दुवै खेल जित्दै समूह विजेता बनेको हो । अर्जेन्टिनाले मेक्सिकोलाई २–० र पोल्यान्डलाई समूह चरणको अन्तिम खेलमा २–० ले नै पराजित गर्दै अर्जेन्टिनाले विश्वकपमा अगाडिको ढोका खोलेको थियो ।

सन् १९७८ र १९८६ मा गरी दुईपटक विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिना तेस्रोपटक विश्वकपको उपाधि जित्ने दौडमा छ ।

पोर्चुगल

पहिलोपटक उपाधि जित्दै इतिहास बनाउने लक्ष्यमा रहेको टिम हो, पोर्चुगल । पोर्चुगलले शनिबार मोरोक्कोसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

कतारको अल थुमामा रंगशालामा पोर्चुगल र मोरोक्कोबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । पोर्चुगलले प्रिक्वार्टरफाइनलमा स्वीट्जरल्यान्डलाई ६–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । पोर्चुगलको जितमा गोन्कालो रामोसले ह्याट्रिक गोल गरेका थिए । जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने उनी पहिलो खेलाडी हुन् ।

portugal1670492384.jpg

समूह ‘एच’ को विजेता बन्दै पोर्चुगल विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो । आफ्नो पहिलो खेलमा घानालाई ३–२ गोलले पराजित गरेको पोर्चुगलले दोस्रो खेलमा उरुग्वेलाई २–० ले हराएको थियो । तर, समूह चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग २–१ गोलले हारेको थियो ।

फ्रान्स

फ्रान्स लगातार विश्वकप जित्ने लक्ष्यसहित खेलिरहेको छ । शनिबार फ्रान्सले विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप सुरु हुनुअघि खेलाडी चोटले सताएको फ्रान्सले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । कतारको अल बेत रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे फ्रान्स र इंग्ल्यान्डबीचको खेल सुरु हुनेछ ।

france1670492401.jpg

फ्रान्सले प्रिक्वार्टरफाइनलमा पोल्यान्डलाई ३–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । समूह ‘डी’ को विजेता बनेको फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा डेनमार्कलाई २–१ गोलले हराएको फ्रान्स तेस्रो खेलमा भने ट्युनिसियासँग १–० गोलको लज्जास्पद हार ब्यहोरेको थियो ।

नेदरल्यान्ड्स

नेदरल्यान्ड्स अर्जेन्टिनालाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । प्रिक्वार्टरफाइनलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा पुगेको टिम हो ।

विश्वकप फुटबलको उपाधि जित्दै ऐतिहासिक उपलब्धि पाउने लक्ष्यमा नेदरल्यान्ड्स रहेको छ ।

netherlands1670492434.jpg

समूह ‘ए’ को विजेता बन्दै नेदरल्यान्ड्स विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो । तीन खेलबाट सात अंक बनाएको नेदरल्यान्ड्स जारी विश्वकपमा अपराजित टिम हो । समूह चरणको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा इक्वेडरसँग १–१ गोलको बराबरी खेले पनि समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोलले हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरेको थियो ।

इंग्ल्यान्ड

जारी विश्वकप फुटबलमा अपराजित यात्रामा रहेको अर्को टिम हो, इंग्ल्यान्ड । इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि विश्वविजेता फ्रान्ससँग खेल्दैछ । 

प्रिक्वार्टरफाइनलमा सेनेगललाई ३–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको इंग्ल्यान्ड उपाधि जित्ने लक्ष्यमा छ । ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड सन्तुलित टिम हो । फ्रान्सलाई पराजित गरे इंग्ल्यान्डको सेमिफाइनलमा भेट पोर्चुगल र मोरोक्कोबीचको विजेतासँग हुनेछ ।

eng1670492450.jpg

समूह ‘बी’ मा तीन खेलबाट सात अंक बनाएर विजेता बनेको इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा इरानलाई ६–२ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरी खेलेको इंग्ल्यान्डले तेस्रो खेलमा भने वेल्सलाई ३–० ले हराएको थियो ।

मोरोक्को

मोरोक्को इतिहास बनाउँदै विश्वकपको क्वार्टरफाइनलमा पुगेको टिम हो । मोरोक्कोले प्रिक्वार्टरफाइनलमा २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

क्वार्टरफाइनलमा मोरोक्कोले पोर्चुगलसँग खेल्दैछ । पोर्चुगललाई पराजित गर्दै मोरोक्को सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ ।

morocco1670492467.jpg

समूह चरणको आफ्नो पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरोक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा क्यानडालाई २–१ गोलले पराजित गर्दै मोरोक्को समूह ‘एफ’ को विजेता बनेको थियो ।

क्रोएसिया

पेनाल्टी सुटआउटमा एसियाली राष्ट्र जापानलाई ३–१ ले पराजित गर्दै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको टिम हो । ब्राजिललाई हराउँदै विश्वकपको सेमिफाइनलमा पुग्ने संकल्पमा क्रोएसिया रहेको छ ।

croatia1670492488.jpg

समूह ‘एफ’ को उपविजेता बनेको क्रोएसियाले समूह चरणको आफ्नो पहिलो खेलमा मोरोक्कोसँग बराबरी खेलेको थियो । क्यानडालाई ४–१ गोलले हराएको क्रोएसियाले समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्दै नकआउट चरणमा स्थान बनाएको थियो ।

प्रकाशित मिति:बिहीबार, मंसिर २२, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा