अनि यसरी तोडियो फुटबलका शक्तिराष्ट्रको सान
अनि यसरी तोडियो फुटबलका शक्तिराष्ट्रको सान

विश्वकप फुटबल २०२२ मा केही रोचक खेलहरू भए । केही अप्रत्याशित जितहरू पनि निस्किए । ठूला भनिएका फुटबलका शक्तिराष्ट्रहरू पराजित भए । अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल, पोर्चुगल, फ्रान्सजस्ता टिम पराजित हुनुले विश्वकपको माहौल अझ तातियो ।

विश्वकप फुटबलको उपाधि यही राष्ट्रले जित्छ भनेर दाबीका साथ भन्ने अवस्था छैन । नतिजा अनुमान लगाएभन्दा फरक आइरहेको छ । क्वार्टरफाइनलसम्म आइपुग्दा ठूला टिमहरू पराजित भए । केही कमजोर टिमले अप्रत्याशित जित निकालेका छन् ।

यी हुन् अप्रत्याशित जितहरू

साउदी २–१ अर्जेन्टिना

मंसिर ६ गते विश्वकपको उपाधि दाबेदार राष्ट्र अर्जेन्टिना कमजोर मानिएको साउदी अरबसँग अप्रत्याशित रूपमा पराजित भयो । अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्नु साउदीका लागि ऐतिहासिक थियो । त्यही भएर साउदीका राजा सलमानले मंसिर ७ गते सार्वजनिक बिदा नै घोषणा गरे ।

पहिलो हाफमा १–० गोलले पछि परेको साउदी अरबले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलका साथ जित निकालेको थियो । 

saudi arab 2-1 argentina1670408503.jpg

खेलको १०औँ मिनेटमा नै पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए । सालेह अलशेरीले खेलको ४८औँ मिनेटमा गोल गर्दै साउदी अरबलाई १–१ गोलको बराबरी दिलाए । खेलको ५३औँ मिनेटमा सालेम अल्दावसारीले गोल गरेपछि अर्जेन्टिनाविरुद्ध साउदी अरबले २–१ को अग्रता बनायो । बाँकी समयमा रोक्दै साउदीले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित निकाल्यो ।

 जापान २–१ जर्मनी

 

चारपटकको विश्वकप विजेता जर्मनी विश्वकप फुटबलको समूह ‘ई’ मा आफ्नो पहिलो खेलमा नै जापानसँग स्तब्ध बन्यो ।

जर्मनीविरुद्ध जापानले २–१ गोलले पराजित गर्दै पाएको त्यो ऐतिहासिक सफलता सबैको दिमागमा ताजा रहिरहनेछ । त्यो जित मात्रै थिएन, फुटबलको शक्तिराष्ट्रमाथिको रवाफ तोडिनुसमेत थियो ।

japan 2-1 Germany1670408558.jpg

खेलको ३३औँ मिनेटमा जर्मनीका इल्काए गुन्डोगनले पेनाल्टीबाट गोल गर्दै १–० गोलको अग्रता दिलाए । जर्मनीका खेलाडीलाई डिबक्सभित्र जापानका गोलकिपर सुइची गोन्डाले लडाएपछि पेनाल्टी पाएको थियो । पहिलो हाफमा १–० गोलले पछि परेको जापानले दोस्रो हाफमा उत्कृष्ट खेल्दै जित निकाल्यो । जापानका रित्सु डोओनले खेलको ७५औँ मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी बनाए । ताकुमा असानोले खेलको ८३औँ मिनेटमा गोल गर्दै जापानलाई २–१ को जित दिलाए ।

जर्मनी समूह चरणबाटै बाहिरिनुको मुख्य कारण पनि जापानसँग पराजित हुनु बन्यो । यता, जापान प्रिक्वार्टरफाइनलमा पुग्नुको मुख्य कारण पनि जर्मनीलाई हराउनु बन्यो ।

इरान २–० वेल्स

एसियाली राष्ट्र इरानले समूह चरणबाटै बाहिरिए पनि विश्वकप फुटबलमा सनसनीपूर्ण जित भने निकाल्न सफल भयो ।

इरानले वेल्सलाई २–० गोलले पराजित गर्न सफल भयो । इरानको जितमा रौजबेह चेश्मी र रमिन रेजाइनले गोल गरे । खेलको ८६औँ मिनेटमा वेल्सका गोलकिपर वेयन हेनेसी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेल्सको टिम १० खेलाडीमा झरेको थियो । वेयनले इरानका मेहदी तारेमीलाई डिबक्सबाहिर गम्भीर फोउल गरेपछि भीएआरको मद्दतमा रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।

iran 2-0 wales1670408590.jpg

वेल्सका गोलकिपरले रातो कार्ड खाँदै मैदानबाट बाहिरएसँगै लगातार दुई गोल खायो । इन्जुरी समयको आठौँ मिनेटमा गोल चेश्मीले गोल गर्दै इरानलाई १–० गोलको अग्रता दिलाए । लगत्तै इरानले दोस्रो गोल थप्यो । इरानका रमिनले इन्जुरी समयको ११औँ मिनेटमा गोल गर्दै इरानलाई २–० को जित दिलाए ।

मोरोक्को २–० बेल्जियम

समूह ‘एफ’ मा रहेको मोरोक्कोले विश्वकप फुटबलमा बेल्जियमविरुद्ध सनसनीपूर्ण जित निकाल्न सफल भयो । समूह चरणको आफ्नो दोस्रो खेलमा मंसिर ११ गते राति बेल्जियमविरुद्धको त्यो २–० को जित मोरोक्कोका लागि ऐतिहासिक मात्रै थिएन, विश्वकपको अगाडिको बाटो खुल्नुसमेत थियो ।

morocco 2-0 belgium1670408610.jpg

पहिलो हाफमा गोलरहित बराबरी खेलेको मोरोक्कोले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । मोरोक्कोका लागि अब्देलहामिद साविरी र जाकारिया अबौख्लालले गोल गरेका थिए । खेलको ७३औँ मिनेटमा साविरीले गोल गर्दै मोरोक्कोलाई १–० गोलको अग्रता दिलाए । खेलको अन्तिम समयमा जाकारियाले गोल गर्दै मोरोक्कोलाई २–० गोलको जित दिलाए ।

ट्युनिसिया १–० फ्रान्स

ट्युनिसिया समूह चरणबाटै बाहिरिए पनि विश्वकप फुटबलको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा फ्रान्सलाई स्तब्ध बनायो । फ्रान्सलाई १–० गोलले पराजित गरे पनि विश्वकप फुटबलबाट भने ट्युनिसिया बाहिरियो ।

खेलको ५८औँ मिनेटमा वाहबी खाज्रीले गोल गर्दै ट्युनिसियालाई १–० गोलको अग्रता दिलाए । खेलको अन्तिम समयमा एन्टोनी ग्रिजम्यानले गोल गरे । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले अफसाइड देखाएपछि फ्रान्स हारबाट जोगिन सकेन । ट्युनिसियालाई कमजोर मान्दै नौ जना दोस्रो रोजाइका खेलाडीलाई फ्रान्सले खेलाएको थियो ।

tunisia 1-0 france1670408639.jpeg

विश्वकपमा फ्रान्सको त्यो भुल्नै नसकिने नमिठो हार थियो । तर, त्योभन्दा अघि दुई खेलमा जित निकाल्दै फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको थियो ।

जापान २–१ स्पेन

जर्मनीविरुद्ध सनसनीपूर्ण जित निकालेको एसियाली राष्ट्र जापानले स्पेनलाई स्तब्ध बनाउँदै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो ।

२०१० को विश्वकप विजेता स्पेन जापानसँग २–१ गोलले पराजित हुन पुग्यो । खेलको ११औँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । तर, दोस्रो हाफमा दुई गोल खाँदै स्पेन जापानसँग पराजित भएको हो ।

japan11670409116.jpg

खेलको ४८औँ मिनेटमा रित्सु डोयन र ५१औँ मिनेटमा आओ टानाकाले गोल गर्दै स्पेनविरुद्ध जापानलाई २–१ को अप्रत्याशित जित दिलाए ।

दक्षिण कोरिया २–१ पोर्चुगल

पोर्चुगलविरुद्ध दक्षिण कोरियाले ऐतिहासिक जित मात्रै निकालेन, त्यो जितसँगै ऊ विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा पनि प्रवेश गर्‍यो । विश्वचर्चित सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलाई २–१ गोलले हराउनु दक्षिणको कोरियाका लागि सबैभन्दा ठूलो उपलब्धि हो ।

कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलमा १–० गोलले पछि परेको दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

south korea 2-1 portugal1670408686.jpg

खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको २७औँ मिनेटमा किम योङ वोनले गोल गर्दै दक्षिण कोरियालाई १–१ को बराबरी दिलाए । खेलको इन्जुरी समयमा ह्वाङ हिचानले गोल गर्दै दक्षिण कोरियालाई २–१ को रोमाञ्चक जित दिलाएका थिए ।

क्यामरुन १–० ब्राजिल

सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जितेको ब्राजिलले पनि कमजोर मानिएको क्यामरुनसँग अप्रत्याशित रूपमा हार ब्यहोर्न पुग्यो । क्यामरुनले समूह ‘जी’ को अन्तिम खेलमा ब्राजिललाई १–० गोलले स्तब्ध बनायो ।

camroon 1-0 brazil1670408715.jpg

ब्राजिलविरुद्ध ऐतिहासिक जित निकाले पनि क्यामरुन विश्वकपको समूह चरणबाटै बाहिरिन पुग्यो । यता ब्राजिल भने समूहविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको थियो ।

क्यामरुनका लागि खेलको इन्जुरी समयमा भिसेन्ट अबौबाकरले गोल गर्दै ब्राजिलविरुद्ध जित दिलाए ।

मोरोक्को ३–० स्पेन (पेनाल्टी सुटआउट)

मोरोक्को पहिलोपटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गर्दै इतिहास बनाउन सफल भयो । पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले पराजित गर्दै मोरोक्कोले ऐतिहासिक सफलता पाएको हो ।

स्पेनलाई निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म मोरोक्कोले गोलरहित बराबरीमा रोकेको थियो । पेनाल्टी सुटआउटमा स्पेन मोरोक्कोसँग ३–० ले स्तब्ध बन्यो ।

morocco 3-0 spain (penalty)1670408736.jpg

यो जित मोरोक्कोका लागि ऐतिहासिक बन्यो । देशमा उत्सव छायो । अफ्रिकन टिम मोरोक्कोले फुटबलका शक्तिराष्ट्रलाई माथ खुवाउँदै विश्वकपको क्वार्टरफाइनलसम्म पुग्नु ठूलै सफलता हो ।

मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मच्चाएको थियो ।

त्यसयता सन् १९९४, १९९८ र २०१८ को विश्वकप खेल्यो तर यी सबै विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास थियो । तर, कतारमा जारी विश्वकप फुटबलमा मोरोक्को फुटबलको नयाँ शक्तिराष्ट्रको रूपमा देखा परेको छ ।

प्रकाशित मिति:बुधबार, मंसिर २१, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा