पोर्चुगल विश्वकपको क्वार्टरफाइनलमा प्रवेश, स्वीट्जरल्यान्ड ६–१ ले पराजित
पोर्चुगल विश्वकपको क्वार्टरफाइनलमा प्रवेश, स्वीट्जरल्यान्ड ६–१ ले पराजित

पोर्चुगल स्वीट्जरल्यान्डलाई पराजित गर्दै कतार विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

कतारको लुजेल रंगशालामा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । पोर्चगलको जितमा गोन्कालो रामोसले ह्याट्रिक गोल गरे । त्यस्तै, पेपे,  राफेएल गुरेइरो र राफेएल लियोले गोल गरे । यता, स्वीट्जरल्यान्डका म्यानुएल एकान्जीले एक गोल फर्काए ।

खेलको १७औँ मिनेटमा नै रामोसले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए । उनले जोआओ फेलिक्सको पासमा सुन्दर गोल गरेका हुन् । खेलको ३३औँ मिनेटमा पेपेले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै पोर्चुगललाई २–० को अग्रता दिलाए । पेपेले यो गोल गरेसँगै उनी सबैभन्दा पाको उमेरमा विश्वकपको नकआउट चरणमा गोल गर्ने खेलाडी भएका छन् । उनी ३९ वर्ष ९ महिना पूरा भएका छन् । पेपे पोर्चुगलका मुख्य डिफेन्डर हुन् ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप चार गोल गर्दा एक गोल खान पुगेको थियो । खेलको ५१औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को अग्रता दिलाए । खेलको ५५औँ मिनेटमा राफेएलले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रतामा पुर्याए । तर खेलको ५८औँ मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्वीट्जरल्यान्डलाई ४–१ को स्थितिमा पुर्याए ।

खेलको ६७औँ मिनेटमा रामोसले गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनको ह्याट्रिकसँगै पोर्चुगलले स्वीट्जरल्यान्डविरुद्ध ५–१ गोलको अग्रता बनायो । यो ह्याट्रिकसँगै रामोस जारी विश्वकप फुटबलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । खेलको इन्ज्युरी समयको दोस्रो मिनेटमा राफेएल लियोले गोल गर्दै पोर्चुगललाई ६–१ गोलको फराकिलो जित दिलाएका छन् ।

क्वार्टरफाइनलमा प्रवेश गरेको पोर्चुगलले अब सेमिफानल प्रवेशको लागि मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति:बुधबार, मंसिर २१, २०७९  ०२:४८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा