यी हुन् विश्वकपमा अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडीहरू
यी हुन् विश्वकपमा अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडीहरू

कतार विश्वकपले यतिबेला विश्वजगत्‌को ध्यान तानेको छ । एसियामा दोस्रोपटक हुन लागेको यो विश्वकपको २२औँ संस्करणसम्म आइपुग्दा अहिलेसम्म कुन–कुन खेलाडीले गोल्डेन बुट जितेका छन् ? सन् १९३० देखि सुरु भएको विश्वकप फुटबल मंसिर ४ गतेबाट कतारमा सुरु हुँदैछ ।

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई सुनको जुत्ता दिने प्रचलन छ । विश्वकप फुटबलमा अहिलेसम्म कुन–कुन खेलाडीले कस्तो प्रदर्शन गर्दै सुनको जुत्ता जिते ? विश्वकप फुटबलको इतिहासमा अहिलेसम्म सुनको जुत्ता (गोल्डेन बुट) जित्ने खेलाडी यी हुन्ः

ह्यारी केन (इंग्ल्यान्ड)

सन् २०१८ रसियामा भएको विश्वकप फुटबलमा सर्वाधिक गोल गर्दै इंग्ल्यान्डका कप्तान ह्यारी केनले सुनको जुत्ता (गोल्डेन बुट) जितेका थिए । 

उनले त्यो विश्वकपमा ६ गोल गर्न सफल भए । विश्वकपको सेमिफाइनलसम्म इंग्ल्यान्डलाई पुर्‍याउन कप्तान ह्यारी केनको ठूलो भूमिका थियो । तर सेमिफाइनलमा क्रोसियासँग थप गरिएको अतिरिक्त समयमा इंग्ल्यान्ड २–१ गोलले पराजित भएको थियो ।

इंग्ल्यान्डले समूह चरणको खेलमा पानामासँग खेल्दा कप्तान केनले ह्याट्रिक गोल गरेका थिए ।

जेम्स रोड्रिगुएज (कोलम्बिया)

सन् २०१४ मा ब्राजिलमा सम्पन्न भएको विश्वकपको गोल्डेन बुट कोलम्बियाका जेम्स रोड्रिगुएजले पाएका थिए । आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गर्दै रोड्रिगुएजले ६ गोल गरेका थिए ।

२०१४ को सर्वाधिक गोलकर्ता बनेका उनले समूह चरणका सबै खेलमा गोल गरेका थिए । कोलेम्बियाले समूह चरणको पहिलो खेलमा ग्रिसलाई ३–० गोलले पराजित गर्दा रोड्रिगुएजले पनि गोल गरेका थिए । उनको विश्वकपमा पहिलो गोल त्यही थियो । त्यसपछि आईभोरीकोस्टलाई २–१ र जापानलाई ४–१ ले कोलम्बियाले पराजित गर्दा रोड्रिगुएजले समान १–१ गोल गरेका थिए ।

प्रि–क्वार्टरफाइनलमा उरुग्वेलाई कोलम्बियाले २–० गोलअन्तरले पराजित गर्दा रोड्रिगुएजले दुवै गोल गरेका थिए । त्यस्तै, क्वार्टरफाइनलमा आयोजक ब्राजिलसँग २–१ गोलअन्तरले पराजित हुँदा पनि उनले एक गोल गरेका थिए ।

थोमस मुलर (जर्मनी)

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा पाँच गोल गरेका जर्मनीका थोमस मुलरले गोल्डेन बुट जित्न सफल भए । हुन त उनीसँगै उरुग्वेका डिएगो फर्लान, नेदरल्यान्ड्सका वेस्ली स्नैज्डर र स्पेनका डेभिड भिल्लाले पनि समान ५–५ गोल गरेका थिए ।

मुलरले सुनको जुत्ता पाए भने डिएगो फर्लानले गोल्डेन बल पाए । मुलरले गोल्डेन बुटसँगै सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड पनि पाएका थिए ।

मुलरले समूह चरणमा अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । त्यस्तै, प्रि–क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका मुलरले क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध एक गोल गरे । त्यस्तै, विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा उरुग्वेलाई ३–२ गोलअन्तरले जर्मनीले पराजित गर्दा मुलरले एक गोल गरे ।

मिरोस्लाभ क्लोज (जर्मनी)

सन् २००६ को विश्वकपमा जर्मनीले उपाधि उचाल्न नसके पनि गोल्डेन बुट भने जर्मनीकै मिरोस्लाभ क्लोजले जिते । दोस्रोपटक आयोजना गरेको विश्वकपमा जर्मनी तेस्रो स्थानमै  सीमित बनेको थियो ।

तर, जर्मनीका क्लोज सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनले विश्वकपमा पाँच गोल गर्दै सुनको जुत्ता पाएका थिए । पाँच गोल गर्ने क्रममा उनले समूह चरणको खेलमा जर्मनीले कोस्टारिकालाई ४–२ गोलअन्तरले पराजित गर्दा दुई गोल गरेका थिए । त्यस्तै, इक्वेडरलाई ३–० गोलअन्तरले पराजित गर्दा पनि क्लोजले दुई गोल गरेका थिए ।विश्वकपको क्वार्टरफाइनलमा जर्मनीले अर्जेन्टिनालाई पराजित गर्दा उनले एक गोल गरेका थिए ।

उनी विश्वकप फुटबलमा त्यस्ता खेलाडी हुन्, जसले विश्व रेकर्ड राखेका छन् । उनले विश्वकपमा १६ गोलको कीर्तिमान कायम गरेका छन् । जुन अहिलेसम्म अन्य खेलाडीले तोड्न सकेका छैनन् ।

रोनाल्डो (ब्राजिल)

रोनाल्डो त्यस्ता ब्राजिलियन खेलाडी हुन् जसले एकै विश्वकपमा आठ गोल गरेका छन् । अहिलेसम्म ब्राजिलका कुनै पनि खेलाडीले एकै विश्वकपमा आठ गोल गर्न सकेका छैनन् ।

सन् २००२ मा विश्वकप फुटबलको इतिहासमा पहिलो पटक एसिया महादेश राष्ट्र जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको थियो । पाँचौँपटक विश्वकपको उपाधि जित्दै ब्राजिलले ऐतिहासिक कीर्तिमान कायम गर्दा रोनाल्डोको मुख्य भूमिका थियो ।

यो विश्वकपमा सर्वाधिक गोल गरेका रोनाल्डोले गोल्डेन बुट पाएका थिए । ब्राजिलले समूह चरणमा टर्कीलाई २–१ गोलले पराजित गर्दा रोनाल्डोले एक गोल गरे । त्यस्तै, चीनलाई ४–० गोलले पराजित गर्दा रोनाल्डोको एक गोल समावेश थियो । समूह चरणमा कोस्टारिकालाई ५–२ गोलअन्तरले पराजित गर्दा रोनाल्डोले दुई गोल गरेका थिए । प्रि–क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध एक गोल गरेका रोनाल्डोले सेमिफाइनलमा टर्कीविरुद्ध एक गोल र फाइनलमा जर्मनीविरुद्ध दुई गोल गरेका थिए ।

डेभोर सुकर (क्रोसिया)

सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकप फुटबलको गोल्डेन बुट क्रोसियाका डेभोर सुकरले जिते । क्रोसियन स्ट्राइकर डेभोरले विश्वकप फुटबलमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पाएका थिए ।

उनले समूह चरणमा दुई गोल गरेका थिए । त्यस्तै, प्रि–क्वार्टरफाइनलमा उनकै एक गोलको मद्दतमा रोमानियालाई पराजित गर्दै क्रोसिया क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, क्वार्टरफाइनलमा जर्मनीलाई ३–० गोलअन्तरले पराजित गर्दा डेभोरले एक गोल गरेका थिए । सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलअन्तरले पराजित हुँदा र विश्वकपको तेस्रो स्थानका लागि नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दा डेभोरले दुवै खेलमा समान १–१ गोल गरेका थिए ।

ओलेग सालेन्को (रुस), हृस्टो स्टोइचकोभ (बुल्गेरिया)

सन् १९९४ मा भएको विश्वकप फुटबलको गोल्डेन बुट भने दुई जना खेलाडीले पाएका थिए ।

विश्वकपमा समान ६–६ गोल गरेका रुसका सालेन्को र बुल्गेरियाका हृस्टो स्टोइचकोभले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट जितेका थिए । 

सालेन्कोले क्यामरुनविरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए । त्यस्तै उनले स्वीडेनविरुद्ध १ गोल गरेका थिए । यता, स्टोइचकोभले समूह चरणमा तीन गोल गरेका थिए भने प्रि–क्वार्टरफाइनलमा मेक्सिको, क्वार्टरफाइनलमा जर्मनी र सेमिफाइनलमा इटालीविरुद्ध गरी तीन गोल गरेका थिए ।

साल्भाटोर स्चिलाची (इटाली)

सन् १९९० को विश्वकप फुटबल जर्मनीले जित्दा सर्वाधिक गोलकर्ता भने इटालीका साल्भाटोर स्चिलाची भएका थिए । उनले सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

इटालीले आयोजना गरेको विश्वकपमा समूह चरणको पहिलो खेलमा नै अस्ट्रियाविरुद्ध साल्भाटोरले गोल गरेका थिए । त्यस्तै, समूह चरणको खेलमा उनले चेकोस्लोभाकियाविरुद्ध एक गोल गरेका थिए ।

उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दा साल्भाटोरले एक गोल गरे । त्यस्तै, क्वार्टरफाइनलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध गोल गर्दै इटालीलाई सेमिफाइनलमा पुर्‍याएका थिए । सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भए पनि उनले एक गोल गरेका थिए । उनले विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डविरुद्ध एक गोल गरेका थिए ।

ग्यारी लिनकर (इंग्ल्यान्ड)

ग्यारी लिनकरले सन् १९८६ को विश्वकप फुटबलको गोल्डेन बुट जितेका थिए ।

उनले मेक्सिकोमा भएको विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जिते ।

समूह चरणको अन्तिम खेलमा पोल्यान्डविरुद्ध ह्याट्रिक गोल गर्दै इंग्ल्यान्डलाई लिनकरले जिताएका थिए । त्यस्तै, पाराग्वेविरुद्ध दुई गोल गर्दै क्वार्टरफाइनलमा पुर्‍याएका लिनकरले अर्जेन्टिनासँग २–१ गोलले पराजित हुँदा पनि १ गोल गरे ।

पाओलो रोसी (इटाली)

सन् १९८२ मा स्पेनमा सम्पन्न विश्वकप फुटबलको उपाधि इटालीले उचाल्दा सर्वाधिक गोलकर्ता पनि इटालीकै पाओलो रोसी बने ।

उनले सर्वाधिक ६ गोल गर्दै सुनको जुत्ता जिते । ब्राजिलविरुद्ध ह्याट्रिक गोल गर्दै सेमिफाइनलमा इटालीलाई पुर्‍याएका रोसीले सेमिफाइनलमा पोल्यान्डविरुद्ध दुई गोल गरे ।

त्यस्तै, जर्मनीलाई फाइनलमा पराजित गर्दै इटालीले विश्वकपको ट्रफि उचाल्दा रोसीले महत्त्वपूर्ण एक गोल गरेका थिए ।

मारियो क्याम्पेस (अर्जेन्टिना)

सन् १९७८ मा अर्जेन्टिनाले आफ्नै मैदानमा पहिलोपटक विश्वकप फुटबलको उपाधि उचालेको थियो । यो विश्वकपमा आर्जेन्टिनालाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका मारियो क्याम्पेसले सर्वाधिक ६ गोल गरे । सर्वाधिक गोल गरेका मारियोले गोल्डेन बुट जितेका थिए ।

सर्वाधिक गोल गरेका क्याम्पेसले पोल्यान्ड, पेरु र नेदरल्यान्डसँग समान २–२ गरी कुल ६ गोल गरेका थिए ।

ग्रेजगर्ज लाटो (पोल्यान्ड)

ग्रेजगर्ज लाटो पोल्यान्डका त्यस्ता खेलाडी हुन्, जसले सन् १९७४ को विश्वकपमा सर्वाधिक सात गोल गरेका थिए । 

उनले पोल्यान्डलाई विश्वकपको तेस्रो स्थान दिलाउन ठूलो भूमिका खेले । समूह चरणमा अर्जेन्टिना र हाइटीविरुद्ध समान २–२ गोल गरे ।

त्यस्तै, उनले दोस्रो राउन्डमा दुई गोल गरेका लाटोले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलविरुद्ध एक गोल गरेका थिए ।

गर्ड मुलर (जर्मनी)

गर्ड मुलर त्यस्ता खेलाडी हुन् जसले सन् १९७० को विश्वकप फुटबलमा दुई ह्याट्रिक गरे । उनले यो विश्वकपमा सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

मेक्सिकोमा भएको विश्वकप ब्राजिलले तेस्रोपटक जितेपनि जर्मनीका गर्ड मुलरको चर्चा सर्वत्र छाएको थियो । उनले बुल्गेरिया र पेरुविरुद्ध ह्याट्रिक गरेका थिए ।

त्यस्तै, उनले मोरोक्कोविरुद्धको खेलमा एक गोल गर्दै समूह चरणमै सात गोल गरेका थिए । क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध जर्मनीले ३–२ गोलको जित निकाल्दा गर्ड मुलरले पनि एक गोल गरे । सेमिफाइनलमा इटालीसँग ४–३ गोलअन्तरले पराजित हुँदा गर्ड मुलरले दुई गोल गर्दै एउटै विश्वकपमा १० गोल पूरा गरेका थिए ।

युसेवियो (पोर्चुगल)

सन् १९६६ को विश्वकपमा पोर्चुगाली खेलाडी युसेवियोले सर्वाधिक ९ गोल गरेका थिए । विश्वकपको उपाधि आयोजक राष्ट्र इंग्ल्यान्डले जितेपनि युसेवियो त्यसबेला सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

उनले समूह चरणमा तीन गोल गरेका थिए । त्यस्तै, क्वार्टरफाइनलमा उत्तर कोरियालाई पोर्चुगलले ५–३ गोलअन्तरले पराजित गर्दा युसेवियाले ह्याट्रिकसहित ४ गोल गरेका थिए ।

त्यस्तै, सेमिफाइनलमा इंग्ल्यान्डसँग २–१ गोलअन्तरले पराजित हुँदा पनि उनले एक गोल गरेका थिए । त्यस्तै, विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा सोभियत युनियनविरुद्ध पनि एक गोल गरेका थिए ।

फ्लोरियन अल्बर्ट (हंगेरी), ग्यारिन्चा (ब्राजिल), भ्यालेन्टिन आइभानोभ (सोभियत युनियन) ड्राजन जेर्कोभिक (युगोस्लाभिया), लियोनल सान्चेज (चिली) र भाभा (ब्राजिल)

सन् १९६२ को विश्वकपमा ६ जना खेलाडीले सर्वाधिक चार गोल गरेका थिए । हंगेरीका फ्लोरियन अल्बर्ट, ब्राजिलका ग्यारिन्चा, सोभियत युनियनका भ्यालेन्टिन आइभानोभ, युगोस्लाभियाका ड्राजन जेर्काेभिक चिलीका लियोनल सान्चेज र ब्राजिलका भाभाले समान ४–४ गोल गरेका थिए ।

जस्ट फन्टाइन (फ्रान्स)

फ्रान्सेली स्ट्राइकर फन्टाइन त्यस्ता खेलाडी हुन् जसले एकै विश्वकपमा १३ गोल गरेका छन् ।

सन् १९५८ को विश्वकपमा फन्टाइनले १३ गोलको कीर्तिमान बनाए थिए । स्वीडेनले पहिलो पटक आयोजना गरेको विश्वकपको उपाधि ब्राजिल जित्न सफल भयो । तर, सर्वाधिक गोलकर्ता बने, फन्टाइन । उनको उत्कृष्ट प्रदर्शनले सबैको मन जितेका थिए ।

समूह चरणमा पाराग्वेविरुद्ध ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, उनले विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीविरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए ।

सान्डोर कोक्सिस (हंगेरी

हंगेरीका स्यान्डोर कोक्सिस त्यस्ता खेलाडी हुन् जसले आफ्नो देशको नेतृत्व गर्दै सन् १९५४ को विश्वकपमा सर्वाधिक ११ गोल गरेका थिए ।

दक्षिण कोरियाविरुद्ध सान्डोर कोक्सिस्ले समूह चरणको पहिलो खेलमा नै ह्याट्रिक गोल गरेका थिए । उनले समूह चरणको खेलमा जर्मनीविरुद्ध ह्याट्रिक सहित  ४ गोल गरेका थिए । जुन खेलमा हंगेरीले जर्मनीलाई ८–३ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यस्तै, क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध हंगेरीले ४–२ गोलअन्तरले पराजित गर्दा दुई गोल कोक्सिसको थियो । त्यस्तै, सेमिफाइनलमा पराग्वेलाई ४–२ गोलअन्तरले पराजित गर्दा पनि कोक्सिसले दुई गोल गरेका थिए ।

एडमिर (ब्राजिल)

सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा सर्वाधिक गोलकर्ता बने ब्राजिलियन फरवार्ड एडमिर । उनले आठ गोल गरेका थिए । 

समूह चरणमा मेक्सिकोविरुद्ध दुई गोल गरेका एडमिरले युगोस्लाभिया विरुद्ध १ गोल गरेका थिए । त्यस्तै, फाइनल राउन्डमा ब्राजिलले स्वीडेनलाई ७–१ गोलअन्तरले पराजित गर्दा एडमिरले ह्याट्रिकसहित चार गोल गरेका थिए । त्यस्तै, स्पेनविरुद्ध पनि उनले एक गोल गरेका थिए ।

लेओनिडास (ब्राजिल)

सन् १९३८ मा फ्रान्समा भएको विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए ब्राजिलका लेओनिडास । उनले यो विश्वकपमा ७ गोल गर्दै सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

पोल्यान्डविरुद्धको खेलमा ब्राजिलले ६–५ गोलअन्तरले पराजित गर्दा लओनिडासले ह्याट्रिक गोल गरेका थिए । उनले क्वार्टरफाइनलको खेलमा चेकोस्लोभाकियाविरुद्ध एक गोल गरेका थिए भने रिप्ले खेलमा पुनः चेकोस्लोभाकियाविरुद्ध नै गोल गरेका थिए । 

त्यस्तै, विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा ब्राजिलले स्वीडेनलाई ४–२ गोलअन्तरले पराजित गर्दा लेओनिडासले दुई गोल गरेका थिए ।

ओल्ड्रिच नेजेल्ली (चेकोस्लोभाकिया)

सन् १९३४ मा स्टालीमा सम्पन्न विश्वकपमा चेकोस्लोभाकियाका ओल्ड्रिच नेजेल्लीले सर्वाधिक पाँच गोल गरेका थिए । दोस्रो विश्वकपमा उपविजेता हुँदा चेकोस्लोभाकियालाई महत्वपूर्ण योगदान दिएका आल्ड्रिचले ह्याट्रिक गोल पनि गरेका थिए ।

सेमिफाइनल खेलमा जर्मनीविरुद्ध आल्ड्रिचले ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, उनले समू्ह चरणको खेलमा रोमानियासँग र क्वार्टरफाइनल खेलमा स्वीट्जरल्यान्डविरुद्ध गरी दुई गोलका थिए ।

गुइर्लिमो स्टेविल (अर्जेन्टिना)

पहिलो विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् अर्जेन्टिनाका फरवार्ड गुइर्लिमो स्टेविल । उनले सन् १९३० को पहिलो विश्वकपमा आठ गोल गरेका थिए । 

समूह चरणको खेलमा गुइर्लिमोले मेक्सिकोविरुद्ध ह्याट्रिक गोल गरे भने समूह चरणकै अर्काे खेलमा चिलीविरुद्ध दुई गोल गरेका थिए । त्यस्तै, सेमिफाइनलमा अमेरिकालाई ६–१ गोलअन्तरले अर्जेन्टिना जित्दा गुइर्लिमोले दुई र फाइनलमा उरुग्वेविरुद्ध हारेपनि एक गोल गरेका थिए ।

 

प्रकाशित मिति:बुधबार, कात्तिक ३०, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा