मोरोक्को इतिहास रच्न तयारः स्पेनको नजर सहज जित
मोरोक्को इतिहास रच्न तयारः स्पेनको नजर सहज जित

विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा आज (मंगलबार) राति एक पटकको विश्वकप विजेता स्पेनले मोरोक्कोसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि लक्ष्यमा रहेको स्पेन मोरोक्कोलाई हराउँदै क्वार्टरफाइनल पुग्ने योजनामा छ ।

मोरोक्को र स्पेनबीचको खेल कतारको एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजे सुरू हुनेछ । मोरोक्को बलियो टिम स्पेनलाई हराउँदै इतिहास रच्न आतुर छ । मोरोक्को समूह ‘एफ’ को विजेता टिम हो । मोरोक्कोले तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै सात अंक बनाएको थियो । यो आफ्नो अपराजित यात्रालाई कायमै राख्दै क्वार्टरफाइनलमा पुग्ने संकल्पमा मोरोक्को रहेको छ ।

स्पेन समूह ‘ई’ को उपविजेता टिम हो । स्पेनले तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै चार अंक बनाएको थियो । पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो । तर समूह चरणको आफ्नो अन्तिम खेलमा जापानसँग स्पेन २–१ ले पराजित भएको थियो ।

मोरोक्को ३६ वर्षपछि विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यसयता, मोरोक्को अहिलेसम्म विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन ।

त्यो विश्वकपको प्रिक्वार्टरफाइनलमा मोरोक्को जर्मनीसँग १–० गोलले पराजित भएको थियो । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । स्पेनलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगे मोरोक्कोका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

प्रकाशित मिति:मंगलबार, मंसिर २०, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा