दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश
दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश

पाँच पटकको विश्वकप विजेता ब्राजिल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले प्रिक्वार्टरफाइनलमा दक्षिण कोरियालाई ४–१ गोलले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

कतारको स्टेडियम ९७४ मा पहिलो हाफसम्म ब्राजिलले दक्षिण कोरियाविरुद्ध ४–० गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा ब्राजिलले एक गोल खान पुग्यो । ब्राजिलको जितमा भिनिसियस, नेयमार, रिचार्लिसन र लुकास पकेइटाले गोल गरे । यता, दक्षिण कोरियाका लागि पाइक सेउङले गोल गरे ।

खेलको सातौँ मिनेटमा नै भिनिसियसले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाए । खेलको १३औँ मिनेटमा नै ब्राजिलले पेनाल्टी पायो । पेनाल्टीबाट नेयमारले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको २९औँ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–० गोलको अग्रता दिलाए । एकपछि अर्को गोल गरेको ब्राजिलविरुद्ध दक्षिण कोरियाले राम्रो खेल्न सकेन । सुरुमै दबाबमा आएको दक्षिण कोरियाले खेलको ३६औँ मिनेटमा अर्को गोल खान पुग्यो । लुकासले गोल गर्दै ब्राजिललाई पहिलो हाफसम्म ४–० को फराकिलो अग्रतामा पुर्याए ।

खेलको दोस्रो हाफमा दक्षिण कोरियाले एक गोल फर्काउन सफल भयो । खेलको ७६औँ मिनेटमा पाइक सेउङले गोल गर्दै दक्षिण कोरियालाई ४–१ गोलको स्थितिमा ल्याए । तर बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि ब्राजिलले दक्षिण कोरियाविरुद्ध फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

अब ब्राजिलले सेमिफाइनल प्रवेशको लागि क्वार्टरफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति:मंगलबार, मंसिर २०, २०७९  ०२:४७
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा