
क्रोएसिया कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले जापानलाई पेनाल्टीमा ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।
यसअघि कतारको अल जानौब रंगशालामा दुवै टिमले निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । थप गरिएको ३० मिनेटको समयमा पनि दुवै टिमले १–१ गोलकै बराबरी खेलेपछि पेनाल्टीबाट खेलको टुंगो लागेको हो ।
जापानले उत्कृष्ट प्रदर्शन गर्दै पहिलोमा १–० गोलको अग्रता बनाएको थियो । तर क्रोएसियाले दोस्रो हाफमा गोल फर्काएपछि बराबरी भएको हो । डइजेन मइडाले ४३औँ मिनेटमा गोल गर्दै क्रोएसियाविरुद्ध जापानलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५५औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरी दिलाएका थिए । बाँकी समयमा दुवै टिमले गोल गर्न सकेनन् । यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । यो समयमा पनि जापान र क्रोएसियाले गोल गर्न सकेनन् ।
पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक सावित भए । उनले जापानका तीन खेलाडीले प्रहार गरेको पेनाल्टी बचाउँदै क्रोएसियालाई जित दिलाए ।
जापानका टाकुमी मिनामिनो, काओरु मिटोमा र माया यसिडाले प्रहार गरेको बल क्रोएसियाका गोलकिपर लिभाकोभिचले बचाएका थिए । जापानका टाकुमा एसानोले मात्र गोल गर्न सके । क्रोएसियाका मार्को लिभाजाले मात्रै गोल गर्न सकेनन् । निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पसालिचले गोल गरे ।