
एसियाली राष्ट्र जापानले जारी विश्वकपमा तहल्का नै मचाएर एकपछि अर्को सनसनीपूर्ण जित निकाल्दै प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको छ । आज (सोमबार) राति क्रोएसियालाई पराजित गरे विश्वकपमा जापानको इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।
सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको जापानले अहिलेसम्म प्रिक्वार्टरफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन । सन् २००२ को विश्वकप फुटबलमा जापान प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो । तर अन्तिम १६ मा टर्कीसाग १–० गोलले पराजित हुँदै बाहिरियो ।
सन् २०१० को विश्वकपमा प्रिक्वार्टरफाइनलसम्म पुगेको जापान पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । २०१८ को विश्वकपमा जापान अन्तिम १६ मा बेल्जियमसँग ३–२ गोलले पराजित भएको थियो ।
तुलनात्मक रुपमा जापान यो विश्वकपमा उच्च मनोबलमा छ । समूह चरणमै विश्व फुटबलका बलिया राष्ट्र जर्मनी र स्पेनलाई समान २–१ गोलले स्तब्ध बनाएको जापान फुटबलमा नयाँ शक्ति राष्ट्रको रुपमा देखा परेको छ ।
जापानले २०१८ को उपविजेता क्रोएसियालाई पराजित गरे अर्को ऐतिहासिक उपलब्धि पाउनेछ । आज राति जापान र क्रोएसियाबीचको खेल ८ः४५ मा सुरु हुनेछ । यता, क्रोएसिया पनि जापानलाई पराजित गर्दै विश्वकपमा आफ्नो यात्रालाई कायमै राख्ने लक्ष्यमा छ ।
जापान समूह ‘ई’ को विजेता टिम हो । जापानले समूह चरणमा तीन खेलबाट ६ अंक बनाएर अन्तिम १६ मा प्रवेश गरेको हो । यता, क्रोएसिया समूह ‘एफ’ को उपविजेता टिम हो । क्रोएसियाले तीन खेलबाट पाँच अंक बनाउँदै विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो ।