
फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा पोल्यान्डलाई प्रिक्वार्टरफाइनलमा ३–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकपको अन्तिम आठमा प्रवेश गरेको हो ।
कतारको अल थुमामा रंगशालामा भएको खेलमा फ्रान्सलाई जिताउन केलियन एमबाप्पेले दुई र ओलिभियर जिरुडले एक गोल गरे । पोल्यान्डका कप्तान लेवान्डोस्कीले गोल गरे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो । फ्रान्ससँग पराजित भएसँगै पोल्यान्ड भने विश्वकपबाट बाहिरिएको छ ।
जिरुडले खेलको ४४औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाए । एमबाप्पेले खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा उत्कृष्ट गोल गर्दै फ्रान्सलाई ३–० गोलको अग्रता दिलाए । खेलको अन्तिम समयमा पोल्यान्डले पेनाल्टी पाएको थियो । कप्तान रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै ३–१ को स्थितिमा पुर्याए पनि पोल्यान्डलाई हारबाट बचाउन सकेनन् ।
क्वार्टरफाइनलमा पुगेको फ्रान्सले अब सेमिफाइनल प्रवेशको लागि इंग्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ ।