
विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा आइतबार राति विश्वविजेता फ्रान्सले पोल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । लगातार दुई पटक विश्वकपको उपाधि जित्ने संकल्पमा रहेको फ्रान्सलाई हराउँदै पोल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ ।
कतारको अल थुमामा रंगशालामा फ्रान्स र पोल्यान्डबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । बलियो फ्रान्स पोल्यान्डलाई हराउँदै क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ । समूह ‘डी’ को विजेता बनेको फ्रान्सले तीन खेलबाट ६ अंक बनाएको थियो ।
फ्रान्सले आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा डेनमार्कलाई २–१ गोलले पराजित गर्दै फ्रान्स एक खेलअघि नै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको थियो । तर आफ्नो अन्तिम खेलमा ट्युनिसियासँग फ्रान्स १–० गोलले स्तब्ध बन्यो ।
यता, पोल्यान्ड समूह ‘सी’ को उपविजेता राष्ट्र हो । पोल्यान्डले तीन खेलबाट चार अंक बनाउँदै अन्तिम १६ मा आफ्नो यात्रालाई सुरक्षित गरेको थियो । पोल्यान्डले समूह चरणको आफ्नो पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेल्यो । तर दोस्रो खेलमा साउदी अरबलाई २–० गोलले पराजित गरेको पोल्यान्ड अन्तिम खेलमा अर्जेन्टिनासँग २–० ले हारेपनि विश्वकपको नकआउट चरणमा पुगेको हो ।
पोल्यान्ड र फ्रान्सबीचको खेल भइरहँदा सबैको नजर भने केलियन एमबाप्पे र रोबर्ट लेवान्डोस्कीमा हुनेछ । एमबाप्पे विश्वकपको गोल्डेन बुटको दाबेदार हुन् । उनले जारी विश्वकपमा तीन गोल गरिसकेका छन् । यता, पोल्यान्डका कप्तान लेवान्डोस्की स्टार खेलाडी हुन् । जसले आफ्नो टिमलाई विश्वकपको प्रिक्वार्टरफाइनलसम्म पुर्याएका छन् ।