अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको हो ।

कतारको अहमद विन अली रंगशालामा भएको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरे । अस्ट्रेलियाले एक गोल भने उपहार स्वरुप पाएको थियो ।

खेलको ३५औँ मिनेटमा गोल गर्दै कप्तान मेस्सीले अस्ट्रेलियाविरुद्ध अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कप्तान मेस्सीकै गोलमा अर्जेन्टिनाले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।

messi11670100917.jpg

खेलको ५७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । खेलको ७७औँ मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले आत्मघाती गोल गर्न पुगे । अस्ट्रेलियाका क्राइग गोड्विनले प्रहार गरेको बल रोक्ने हुँदा आफ्नै पोष्टमा गोल गर्न पुगे । योसँगै अर्जेन्टिनाविरुद्ध अस्ट्रेलियाले २–१ को अवस्थामा पुर्‍याएको थियो । तर बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि अर्जेन्टिनाले अस्ट्रेलियालाई पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

अब सेमिफाइनल प्रवेशको लागि अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति:आइतबार, मंसिर १८, २०७९  ०२:५३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा