
नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्रिक्वार्टरफाइनलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डेपेय, डेले ब्लाइन्ड र डेन्जिल डुम्फ्रिजले गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए ।
कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा १०औँ मिनेटमा नै मेम्फिसले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाएका थिए । उनले डेन्जिल डुम्फ्रिजको क्रस पासमा गोल गरेका हुन् ।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डेले ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० गोलको अग्रता दिलाए । खेलको ७६औँ मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई २–१ को स्थितिमा पुर्याए । तर खेलको ८१औँ मिनेटमा डेन्जिलले गोल गरेपछि नेदरल्यान्ड्सले ३–१ गोलको जित निकालेको हो ।
यो जितसँगै नेदरल्यान्ड्स विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । अब सेमिफाइनल प्रवेशको लागि नेदरल्यान्ड्सले अर्जेन्टिना र अस्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ ।