
चार पटकको विश्वविजेता जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको छ । कोस्टारिकालाई ४–२ गोलले पराजित गरेपनि जापानसँग स्पेन पराजित भएको कारण जर्मनी विश्वकपबाट बाहिरिएको हो ।
समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा कोस्टारिकालाई पराजित गरेपनि जर्मनी विश्वकपबाट बाहिरिएको । समू्ह ‘ई’ बाट स्पेन र जापान विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । जापानसँग २–१ गोलले पराजित भएपनि स्पेन विश्वकपको नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीलाई गोलअन्तरले पछि पार्दै स्पेन प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
जर्मनीले खेलको १०औँ मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । जर्मनीका लागि सर्ज नाब्रीले गोल गर्दै कोस्टारिकाविरुद्ध १–० को अग्रता दिलाए । खेलको ५८औँ मिनेटमा एल्टसिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १–१ गोलको बराबरी दिलाए । खेलको ७०औँ मिनेटमा जर्मनीका गोलकिपर म्यानुएल नेउरले आत्मघाति गोल गर्दा कोस्टारिकाले २–१ को अग्रता बनायो । खेलको ७३औँ र ८५औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए । निक्लास फुलक्रुगले खेलको ८९औँ मिनेटमा गोल गरेपछि जर्मनीले कोस्टारिकालाई ४–२ गोलले पराजित गरेको हो ।
तर जर्मनीले कोस्टारिकालाई पराजित गरेपनि अर्को खेलमा स्पेन जापानसँग २–१ गोलले हार्न पुग्यो । खेलको ११औँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । तर दोस्रो हाफमा दुई गोल खादै स्पेन जापानसँग पराजित भएको हो । खेलको ४८औँ मिनेटमा रित्सु डोयन र ५१औँ मिनेटमा आओ टानाकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए ।
जितसँगै जापानले तीन खेलबाट ६ अंक बनाउँदै समूह विजेता बनेर विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता, स्पेनले तीन खेलबाट चार अंक बनाउँदै उपविजेता बन्यो । जर्मनी भने तीन खेलबाट चार अंक नै बनाएपनि विश्वकपबाट बाहिरियो । जर्मनी विश्वकप फुटबलबाट लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरिएको छ । यसअघि २०१८ को विश्वकपमा पनि जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।