३६ वर्षपछि विश्वकपको प्रिक्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा मोरोक्को
३६ वर्षपछि विश्वकपको प्रिक्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा मोरोक्को

मोरोक्को क्यानडालाई पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाउने लक्ष्यमा छ । अहिलेसम्म पाँच पटक मात्रै विश्वकप खेलेको मोरोक्को प्रिक्वार्टरफाइनलसम्म एक पटक मात्रै पुगेको छ ।

मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का मचाएको थियो । त्यसयता, मोरोक्को अहिलेसम्म विश्वकपको नकआउट चरणमा पुग्न सकेको छैन ।

त्यो विश्वकपको प्रिक्वार्टरफाइनलमा मोरोक्को जर्मनीसँग १-० गोलले पराजित भएको थियो । समूह चरणबाट मोरोक्को विजेता बन्दै प्रिक्वार्टफाइनलमा प्रवेश गरेको थियो । त्यो विश्वकपमा मोरोक्कोले आफ्नो पहिलो खेलमा पोल्यान्डविरुद्ध गोलरहित बराबरी खेलेको थियो । इंग्ल्यान्डसँग पनि गोलरहित बराबरी खेलेको मोरोक्कोले पोर्चुगललाई समूह चरणको अन्तिम खेलमा ३-१ गोलले हराएको थियो ।

सन् १९९४, १९९८ र २०१८ को विश्वकपबाट मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । बिहीबार राति समूह ‘एफ’ को खेलमा क्यानडालाई पराजित गरे मोरोक्को ३६ वर्षपछि फेरि विश्वकपको नकआउट चरणमा पुग्नेछ । त्यो अवसर मोरोक्को कुनै पनि हालतमा गुम्न नदिने लक्ष्यमा छ । पहिलो खेलमा २०१८ को विश्वकप उपविजेता क्रोएसियासँग बराबरी खेलेको मोरोक्कोले आफ्नो दोस्रो खेलमा बेल्जियममाथि २-० गोलको अप्रत्यासित जित निकालेको थियो । क्यानडाविरुद्ध पनि यस्तै सनसनीपूर्ण जित निकाल्दै मोरोक्को प्रिक्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ ।

प्रकाशित मिति:बिहीबार, मंसिर १५, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा