जित्नैपर्ने दबाबमा जर्मनी, स्पेन प्रि–क्वार्टरफाइनलनजिक
जित्नैपर्ने दबाबमा जर्मनी, स्पेन प्रि–क्वार्टरफाइनलनजिक

विश्वकप फुटबलमा समूह ‘ई’ का अन्तिम दुई खेल हुँदैछन् । चारपटकको विश्वकप विजेता जर्मनीले कोस्टारिकाविरुद्ध खेल्दा एकपटकको विश्वकप विजेता स्पेनले जापानसँग प्रतिस्पर्धा गर्दैछ ।

जर्मनी र कोस्टारिकाबीचको खेल कतारको अल बेत रंगशालामा हुँदा स्पेन र जापानले खालिफा अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्नेछ । दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछन् ।

कोस्टारिकाविरुद्ध जर्मनीले जितेर मात्रै पुग्दैन, जापान र स्पेनबीचको नतिजामा पनि निर्भर पर्नुपर्ने हुन्छ । यस कारण पनि जर्मनी कठिन मोडमा छ । आफ्नो पहिलो खेलमा नै जापानविरुद्ध २–१ को अप्रत्याशित हारले जर्मनीलाई यस्तो परिस्थितिमा उभ्याएको छ । जर्मनीले दोस्रो खेलमा भने स्पेनसँग १–१ गोलको बराबरी खेलेको थियो ।

यता, स्पनेले जापानलाई पराजित गर्दै समूह विजेता बनेर विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने लक्ष्य बनाएको छ । तर, जापान पनि स्पेनलाई पराजित गर्दै विश्वकपको प्रि–क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ ।

स्पेनले जापानलाई र जर्मनीले कोस्टारिकालाई हराए स्पेन र जर्मनी विश्वकपको नकआउट चरणमा पुग्नेछन् । स्पेनलाई जापानले पराजित गरेमा जापानसँगै स्पेनले विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सक्छ । जापानले स्पेनलाई हराए जर्मनीले कोस्टारिकालाई पराजित गरेपनि विश्वकपबाट बाहिरिन सक्छ । तर, यस्तो समीकरण बन्दा कोस्टारिकालाई थोरैमा सात गोलको अन्तरले जितेको खण्डमा मात्रै जर्मनी विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावना रहन्छ । तर, जर्मनीलाई पराजित गर्दै कोस्टारिका आफै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।

समूह ‘ई’ को शीर्ष स्थानमा रहेको स्पेनको दुई खेलबाट चार अंक छ । दोस्रो स्थानमा रहेको जापानको दुई खेलबाट तीन अंक हुँदा कोस्टारिकाको पनि समान खेलबाट तीन अंक नै छ । यता, जर्मनीको भने दुई खेलबाट एक अंक मात्रै छ ।

morocco (1)1669876645.jpg

प्रकाशित मिति:बिहीबार, मंसिर १५, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा