
विश्वकप फुटबलको समूह ‘सी’ का अन्तिम दुई खेल हुँदैछन् । अर्जेन्टिनाले पोल्यान्डसँग प्रतिस्पर्धा गर्दा साउदी अरबले मेक्सिकोसँग खेल्दैछ ।
विश्वकपको प्रिक्वार्टरफाइनलमा पुग्ने यी चारै टिमको सम्भावना कायमै छ । विश्वचर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले अर्का स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्डसँग खेल्दैछ । पोल्यान्ड र अर्जेन्टिनाको खेल स्टेडियम ९७४ मा हुनेछ । यता, साउदी अरब र मेक्सिकोबीचको खेल लुजेल रंगशालामा हुनेछ । दुवै खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
दुवै टिमलाई जित्नै पर्ने दबाब छ । बराबरी खेलेको खण्डमा भने पोल्यान्ड विश्वकपको नकआउट चरणमा पुग्नेछ । बराबरी खेलेमा अर्जेन्टिना पनि विश्वकपको नकआउट चरणमा पुग्न सक्छ । तर मेक्सिको र साउदी अरबबीचको नतिजामा भर पर्नु पर्ने हुन्छ ।
पोल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको प्रिक्वार्टरफाइनलमा पुगने लक्ष्यमा छ । यता, पोल्यान्ड अर्जेन्टिनासँग थोरै गोलअन्तरले पराजित भएपनि विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सक्छ । तर मेक्सिकोले साउदी अरबलाई थोरै गोलअन्तरले पराजित गर्नु पर्ने हुन्छ ।
यता, विश्वकपको प्रिक्वार्टरफाइनलमा स्थान बनाउन साउदी अरबले मेक्सिकोलाई पराजित गर्नै पर्ने हुन्छ । मेक्सिको पनि साउदी अरबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।
समूह ‘सी’ को शीर्ष स्थानमा रहेको पोल्यान्डको दुई खेलबाट चार अंक छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको तीन अंक हुँदा साउदी अरबको पनि तीन अंक नै छ । चौथो स्थानमा रहेको मेक्सिकोको एक अंक छ ।