बेल्जियमविरुद्ध मोरोक्कोको सनसनीपूर्ण जित
बेल्जियमविरुद्ध मोरोक्कोको सनसनीपूर्ण जित

मोरोक्कोले विश्वकप फुटबलमा बेल्जियमविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा मोरोक्कोले बेल्जियमलाई २–० गोलले पराजित गरेको हो ।

समूह ‘एफ’ मा रहेको मोरोक्कोले बलियो टिम बेल्जियमविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको मोरोक्कोले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । मोरोक्कोका लागि अब्देलहामिद साविरी र जाकारिया अबौख्लालले गोल गरे ।

मोरोक्कोका हाकिमी जियचले पहिलो हाफको अन्तिम समयमा गोल गरे । तर भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले त्यो गोललाई मान्यता दिएन । उनले अफसाइड गोल गरेका थिए । योसँगै बेल्जियमविरुद्ध १–० गोलको अग्रता बनाउने मौका मोरोक्कोले गुमाएको थियो ।

खेलको ७३औँ मिनेटमा साविरीले गोल गर्दै मोरोक्कोलाई १–० गोलको अग्रता दिलाए । खेलको अन्तिम समयमा जाकारियाले गोल गर्दै मोरोक्कोलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै मोरोक्को समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । मोरोक्कोले दुई खेलबाट चार अंक बनाएको छ । योसँगै मोरोक्कोले अन्तिम १६ पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९  २०:४४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा