विश्वकप सुरु हुनुअघि विदेशी श्रमिक लखेट्दै कतार, ४० हजार नेपाली दबाबमा
विश्वकप सुरु हुनुअघि विदेशी श्रमिक लखेट्दै कतार, ४० हजार नेपाली दबाबमा

विश्वकप फुटबल २०२२ आयोजक राष्ट्र कतारमा कार्यरत विदेशी कामदारलाई रोजगारादाता कम्पनीले विश्वकप सुरु हुनुअघि नै बिदामा बस्न दबाब दिएको छन् । इलामको रोङ गाउँपालिकाका सुन्दर लिम्बू (नाम परिवर्तन) हाल कतारको दोहास्थित ‘लाइन वाटर सप्लाई’ कम्पनीमा कार्यरत छन् । लिम्बू १४ महिनाअघि मात्र सो कम्पनीमा पुगेका थिए । उनी कार्यरत कम्पनीले विश्वकप फुटबल २०२२ आयोजनाका लागि रंगशालामा बनाइएको बगैँचामा पानी छर्किने काम गर्दै आएको छ । 

लिम्बू पनि बिहानबेलुका दोहामा निर्माण भएको रंगशालामा बिहान–बेलुका पानी हाल्न पुग्ने गरेको बताउँछन् । विगत दुई सातायता कम्पनीले घर कहिले जाने भन्दै फर्किन दबाब दिइरहेको सामाजिक सञ्जालमार्फत शिलापत्रको सम्पर्कमा आएका लिम्बूले बताए ।

‘कम्पनीले एक साताभित्र घर फर्किने तयारी गर्नू भनेर दबाब दिइरहेको छ । त्यही भएर कहिले फर्किनुपर्ने हो, निश्चित छैन । रंगशालामा कार्यरत मात्र होइन, कतारको दोहाआसपासका कम्पनीमा काम गर्ने सबै विदेशी श्रमिकलाई फर्काउन खोज्दैछ’, उनले भने, ‘रंगशालामा कार्यरत करिब १० हजार नेपाली कामदारहरूलाई कतार सरकारले आन्तरिक रूपमा घर बिदामा पठाउन दबाब दिइरहेको भनेर कम्पनीले बताएको छ । त्यही भएर कम्पनी पनि दबाबमा छ ।’

विश्वकप फुटबल नजिकिएसँगै लिम्बूजस्तै दोहाको फूल नर्सरीमा कार्यरत धनकुटा छथर गाउँपालिकाका रमण क्षेत्री (नाम परिर्वतन) लाई पनि कम्पनीले घर बिदामा जान तयार हुँदै गर्नू भनेर दबाब दिइरहेको छ । उनी विश्वकप फुटबल आयोजना हुने तेस्रो रंगशालाभन्दा करिब ४ किलोमिटरमा पर्ने नर्सरीमा काम गर्दै आएका छन् ।

दुई साताअघिसम्म विश्वकप फुटबल हेर्न बिदा दिने भनेको कम्पनीले अहिले घर बिदामा जा भनेर दबाब दिइरहेको क्षेत्रीले बताए । ‘खोइ घर जाओ भन्दैछ, कहिले पठाउने हो । कतार विश्वकप हेर्न पाइन्छ भनेर रोजगारीका लागि आएको थिएँ । तर, घर फकिनुपर्ने भयो,’ क्षेत्रीले गुनासो गर्दै भने, ‘विश्वकप हेर्नकै लागि भनेर धेरै साथीहरू कतार आएका थिए । तर, सबै जनालाई कम्पनीहरूले धमाधम घर बिदामा भन्दै फर्काउँदैछन् । हाम्रो पालो कहिले आउने हो ।’

कतारस्थित नेपाली दूतावासले पनि कतारमा विश्वकप हुने क्षेत्रआसपास रोजगारीमा कार्यरत करिब ४० हजार नेपाली कामदारलाई रोजगारदाता कम्पनीले घर फर्किन दबाब दिइरहेको सूचना आएको जनाएको छ । कतिपय कामदारले करार अवधि भए पनि रोजगारदाता कम्पनीले चाँडै घर फर्किन दबाब दिइरहेको दूतावासमा फाेन गरेर सुनाउने गरेको दूतावासका कर्मचारीहरूले बताएका छन् । 

कतारको मध्य दोहामा रहेका कामदारहरूलाई बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न कतारी अध्यागमन विभागले रोजगारदाता कम्पनीमार्फत दबाब दिइरहेकाे छ । दोहाको अल–मन्सौराआसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहरू सडकमा निकालिएकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । 

कतारमा झण्डै २८ लाख जनसंख्या छ । जुन कुल कतारमा रहेका मानिसहरूमध्ये २० प्रतिशतजति हो । कतारी नागरिकबाहेक कतारमा नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, फिलिपिन्स, केन्या र युगान्डालगायत देशबाट कामको सिलसिलामा स्थायी तथा अस्थायी बसोबास गर्नेहरू रहेका छन् ।

 

तीमध्ये सामान्य रोजगारीमा कार्यरत कामदारलाई तीन महिनाको बिदामा कतार सरकारले अप्रत्यक्ष रूपमा स्वदेश फर्काउने नीति लिएको छ । रंगशालामा काम गर्न पुगेका ठूलो संख्याका नेपाली श्रमिकको मृत्यु र अंगभंग भए पनि यस्ता घटना तत्काल बाहिर आउँदैनन् । कतारमा रहेका नेपालीको संस्था (बीडब्लूआई)का संयोजक जेबी गुरुङ कतारको रंगशालामा काम गर्न आएका नेपाली कामदारको अवस्था नाजुक भए पनि बाहिर नआउने गरेको बताउँछन् ।

संयोजकका गुरूङका अनुसार रंगशालामा काम गर्ने विदेशी कामदार अवस्था बुझ्न मानवअधिकार आयोगले पनि कुनै ठोस कदम चाल्न सकेको छैन । रंगशालाभित्र काम गर्ने श्रमिक दास नै भएको उनको भनाइ छ ।

एम्नेस्टी इन्टरनेसनलले कतार विश्वकप २०२२ का छनोट खेलहरू सुरु हुनु ठीकअगाडि रंगशाला निर्माणमा खटिएका विदेशी कामदारमाथि चरम शोषण र दुर्व्यवहार पूर्ववत् रूपमा जारी रहेको भन्दै सुधारका लागि आग्रह गरेको छ ।बेलायतमा मुख्यालय रहेको एम्नेस्टीले कतारमा आप्रवासी श्रमिकमाथि भइरहेको दुर्व्यवहार र श्रम शोषणको विषय पुनः उठाएको हो । एम्नेस्टीले आप्रवासी श्रमिकमाथिको दुर्व्यवहार अन्त्य गर्न सघाउनका लागि फिफालाई कतारका अधिकारीमाथि आफ्नो प्रभावको प्रयोग गर्न आह्वान गरिरहेको छ । निर्माणाधीन रंगशालामा काम गर्न पुगेका नेपाली श्रमिक पनि १६ घन्टासम्म काम गर्न बाध्य छन् ।

सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि कतारले रंगशालाहरू निर्माण गर्न वार्षिक २ लाखसम्म विदेशी कामदार लगेको थियो । जसमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेको विभिन्न समयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औँल्याएका थिए । विभिन्न समयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि कतारमा रंगशाला निर्माणमा काम गर्ने श्रमिकमाथि चरम शोषण भइरहेका तथ्यहरू बाहिर ल्याइसकेका छन् ।

रंगशालामा काम गर्न गएका कामदार सप्लाई कम्पनीमार्फत पुग्ने गरेका छन् । जसका कारण आप्रवासी श्रमिकहरू आर्थिक, मानसिक र शारीरिक शोषणमा पर्ने गरेको एम्नेस्टीको अध्ययनमा उल्लेख छ । कतारले विश्वकपका मुखमा विदेशी कामदारलाई घर बिदामा जान दबाब दिनु भनेको श्रमिकहरूको मानवअधिकार उल्लङ्घन गर्नु भएको श्रम तथा आप्रवासनविज्ञ र एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वनिर्देशक रामेश्वर नेपाल बताउँछन् । आवश्यक पर्दा श्रमिक लिने र प्रतियोगिताहरू आयोजना हुनुअघि घर पठाउनु भनेको श्रमिकलाई दमन गर्नु भएको उनको भनाइ छ । 

कतारको रंगशाला निर्माणमा खटिएका नेपाली कामदारहरू श्रम शोषणमा परे पनि उनीहरूले न्याय पाउन नसकेको र सरकार पनि उनीहरूको मुद्दामा गम्भीर नभएको उनको भनाइ छ । 

रंगशाला निर्माणका क्रममा साढे ७ हजारको मृत्यु 

कतारमा विश्वकप फुटबल प्रतियोगिताका लागि रंगशाला निर्माणको काम सुरु भएयता ज्यान गुमाउने आप्रवासी श्रमिकको संख्या बढ्दो छ । सन् २०११ देखि २०२२ को बीचमा ७ हजार ५ सयभन्दा बढी आप्रवासी श्रमिकले ज्यान गुमाएको बेलायती सञ्चारमाध्यम गार्जियनको रिपोर्टमा उल्लेख छ । गार्जियनका अनुसार हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकको मृत्यु हुने गरेको छ । ज्यान गुमाउने आप्रवासी श्रमिकमध्ये सबैभन्दा बढी भारतका छन् ।

२ हजार ७ सय ११ भारतीय कामदारको कतारमा मृत्यु भएको गार्जियनको रिपोर्टमा उल्लेख छ । रोजगारीका लागि आएका भारतसँगै बंगलादेश, पाकिस्तान, श्रीलंका बर्मा र नेपाली श्रमिकको धेरै मृत्यु हुने गरेको रिपोर्टमा जनाइएको छ । नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार ६ सय ४१ नेपालीले ज्यान गुमाएका छन् ।

नेपालकाे सरकारी तथ्यांकअनुसार सन् २००८ देखि २०२० बीचमा विभिन्न मुलुकहरूमा ८ हजारभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै नेपालीको मृत्यु मलेसियामा भएको देखिएको छ भने दोस्रोमा कतार देखिएको छ । हाल कतारमा ४ लाख नेपाली कार्यरत रहेको सरकारी अनुमान छ ।

कतारमा रोजगारीका क्रममा ज्यान गुमाउने कामदारको कहाँ मृत्यु भएको हो भन्ने खुलाइएको छैन । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार कामदारको मृत्यु भएको तथ्यांक मात्र आउँछ, कारण भने नखुलाई शव पठाउने गरिएको छ ।

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा